समाज

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

नवलपुर टुडे
२०८३ जेष्ठ ३ | मध्यान्ह ०३:०२ बजे

पर्वत । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गरेका हुन् ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताहरूमा हराउँदै गएको पठन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको नेकपा (एमाले) पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

पुस्तकालयमा राजनीति, कानुन, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति, विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृतिलगायत नेपाली साहित्यका सबै विधाका पुस्तकहरू राखिएको छ ।

पुस्तकालयमा झन्डै तीन हजार पुस्तक राखिएको र थप सङ्कलनको कार्य भइरहेको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । यसलाई जिल्लाकै साझा पुस्तकालयका रूपमा विकास गरिने पहाडीको भनाइ छ । पुस्तकालयमा पहिलो चरणमा १५ हजारभन्दा बढी पुस्तकहरू राखिने भएको छ ।

यहाँ फलेवासको मोति पुस्तकालय निरन्तर सञ्चालनमा रहेको छ । यो नेपालकै नमूना पुस्तकालयका रूपमा पुरस्कृत भइसकेको छभने छिमेकी जिल्ला बागलुङमा पनि विद्यामन्दिर पुस्तकालय लामो समयदेखि सञ्चालनमा रहेको छ । अन्य पुस्तकालयहरू भने बन्द भइसकेका छन् ।

कमेन्टहरु