समाज

सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: प्रतिनिधिसभा सदस्य विक्रम खनाल

पुरुषोत्तम सुवेदी
२०८३ जेष्ठ ३ | मध्यान्ह ०३:०२ बजे

पश्चिम नवलपरासी जेठ , ३ गते । प्रतिनिधिसभा सदस्य विक्रम खनालले देशभरका सामुदायिक अस्पतालहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले कानुन संशोधन गरेर सहजीकरण गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाट-१४ स्थित सहीद स्मृति सामुदायिक अस्पतालको आइतबार वार्षिक साधारण सभा’मा प्रमुख अतिथिको रूपमा बोल्दै सांसद खनालले सो धारणा राख्नुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले स्थानीय पालिकाहरूमा १५ शैयाका ससाना अस्पतालहरू बनाउनुभन्दा ‘एक निर्वाचन क्षेत्र, एक सुविधा सम्पन्न अस्पताल’ को अवधारणा अनुरूप विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

समुदायको स्तरबाट दुःख गरी सञ्चालनमा रहेका यस्ता अस्पतालहरूलाई सरकारले आफ्नै मातहत सरह आवश्यक नियम परिमार्जन गरी सहयोग गर्नुपर्ने र सहीद स्मृति सामुदायिक अस्पताललाई यस क्षेत्रकै एउटा महत्त्वपूर्ण र सुविधायुक्त अस्पतालको रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।

खनालले ‘भन्नुभयो “देशभरका सामुदायिक अस्पतालहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले कानुन संशोधन गरेर सहजीकरण गर्नुपर्छ । प्रत्येक पालिकामा १५ शैयाका अस्पताल भन्दा पनि ‘एक निर्वाचन क्षेत्र, एक सुविधा सम्पन्न अस्पताल’ को अवधारणा अघि सार्नु उपयुक्त हुन्छ ।”

वि.सं. २०६६ सालमा स्थानीय नागरिकहरूले महायज्ञ सञ्चालन गरी संकलन गरेको सहयोग रकमबाट यस अस्पतालको स्थापना भएको थियो । स्थापनाकालदेखि नै यसले स्थानीय स्तरमा स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो योगदान पुर्या्उँदै आएको छ । अस्पताल सञ्चालक समितिका सदस्य युवराज डुम्रेका अनुसार हाल यस अस्पतालमा ४० जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् र यसले यस क्षेत्रका नागरिकलाई निरन्तर सेवा दिँदै आएको छ ।

अस्पताल सञ्चालक समितिका उपाध्यक्ष तुलसीराम न्यौपानेले यस क्षेत्रको समग्र विकास र स्वास्थ्य सेवाको पहुँच विस्तारमा अस्पतालले महत्त्वपूर्ण योगदान पुर्यारएको बताउनुभयो ।

सो अवसरमा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी मगर तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगायतले पनि अस्पतालको प्रगतिको कामना गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र चुनौतीहरूका बारेमा समेत छलफल गरिएको थियो ।

तस्वीर – वार्षिक साधारण सभा’ ।

WhatsApp Image 2026 05 17 at 15.08.37WhatsApp Image 2026 05 17 at 15.08.57WhatsApp Image 2026 05 17 at 15.08.25

कमेन्टहरु