इरानी दाबीको युएईद्वारा खण्डन


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) ले शुक्रबार इरानमाथिको आक्रमणलाई न्यायोचित ठहराउने प्रयास स्वरूप युद्धमा युएईको संलग्नता रहेको भन्ने दाबीलाई खण्डन गरेको छ ।
विदेश मन्त्री खलिफा बिन शाहीन अल मरारले ‘युएईले इरानी दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको’ पुष्टि गर्दै भने, “यो त केवल युएई र अन्य राष्ट्रहरूलाई लक्षित गरी इरानले गरेको ‘आतङ्कवादी’ आक्रमण थियो ।”इरानका विदेश मन्त्री अब्बास अराघचीले टेलिग्राम पोस्टमा भनेका छन्, “युएई यस आक्रमणमा सक्रिय साझेदार हो र यसमा कुनै शङ्का छैन।”
इरानको सरकारी समाचार समिति इर्नाले जारी गरेको एक बयानमा अराघचीले भनेका छन् , “इजरायली शासन र संयुक्त राज्य अमेरिकाले उनीहरूको सुरक्षाको सुनिश्चितता गर्न सक्दैनन् र अबु धाबीले आफ्नो भूमिमा अमेरिकी शिविरहरूको उपस्थितिको परिणाम भोगेको छ।”
युएईले भनेको छ, “इरानले ‘बारम्बार र अनुचित आतङ्कवादी आक्रमण’ गरेको छ, जसमा ब्यालेस्टिक र क्रुज क्षेप्यास्त्र तथा ड्रोनबाट करिब तीन हजार आक्रमणहरू भएका छन् ।”“कुनै पनि खतरा, दाबी वा शत्रुतापूर्ण कार्यको सामना गर्न युएईसँग आफ्नो सबै सार्वभौम, कानुनी, कूटनीतिक र सैन्य अधिकार सुरक्षित छ,” मरारलाई उद्धृत गर्दै समाचारमा भनिएको छ।
उनले भने, “युएईले आफ्ना नागरिक, बासिन्दा र आगन्तुकको सुरक्षा सुनिश्चित गर्न आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने आफ्नो पूर्ण र वैध अधिकार सुरक्षित गर्दछ।”






















