नेपाली रक्तदाता संघ यूएईको प्रथम ऐतिहासिक अधिवेशन हुने


“जहाँ नेपाली त्यहाँ रक्तदान” अभियानलाई थप सशक्त बनाइने
यूएईमा रहेका नेपालीहरुको सामाजिक तथा मानवीय सेवामा सक्रिय संस्था नेपाली रक्तदाता संघ यूएई ले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन आयोजना गर्ने भएको छ। “हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नारासहित संस्थाले अधिवेशनमार्फत रक्तदान अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
संघले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशन आगामी मे, १७ तारिक आइतबार आयोजना हुनेछ। कार्यक्रम बिहान १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ भने कार्यक्रम स्थल दुबईस्थित JAY’S KITCHEN तय गरिएको छ। अधिवेशनलाई संस्थाको इतिहासकै महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।
विगत केही वर्षदेखि यूएईमा रहेका नेपाली समुदायबीच रक्तदान सम्बन्धी जनचेतना फैलाउँदै आएको संघले आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत उपलब्ध गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। दुर्घटना, बिरामी अवस्था तथा विभिन्न आपतकालीन परिस्थितिमा नेपालीहरुलाई सहयोग पुर्याउँदै आएको संस्थाले रक्तदानमार्फत सयौं जीवन बचाउन सफल भएको बताइएको छ।
अधिवेशनमार्फत संस्थाले आगामी कार्ययोजना, संगठन विस्तार, नयाँ नेतृत्व चयन, सामाजिक अभियानको प्रभावकारिता तथा रक्तदान अभियानलाई अझ व्यवस्थित बनाउने विषयमा छलफल गर्ने जनाएको छ। कार्यक्रममा यूएईका विभिन्न क्षेत्रमा कार्यरत नेपाली समाजसेवी, बुद्धिजीवी, व्यवसायी, युवा तथा रक्तदाता स्वयंसेवकहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
संस्थाले यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई अभियानलाई सफल बनाउन अनुरोध गरेको छ। “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात गर्दै मानव सेवाको महान कार्यमा सबैलाई एकजुट हुन आयोजकले अपिल गरेको छ।
संघका अनुसार विदेशमा रहेर पनि नेपाली समुदायबीच सामाजिक एकता, सहयोग र मानवताको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। रक्तदान अभियानलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन अधिवेशन ऐतिहासिक हुने आयोजकको दाबी छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि संघले आफ्नो आधिकारिक फेसबुक पेज तथा सम्पर्क नम्बरमार्फत जानकारी लिन अनुरोध गरेको छ।






















