विश्व

शिखर सम्मेलनमा अमेरिकी व्यवसायी कम, सम्झौता पनि कमजोर

एजेन्सी
२०८३ जेष्ठ १ | मध्यान्ह ०४:०२ बजे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनबाट स्वदेश फर्किए । यस शिखर बैठकमा २०१७ को तुलनामा अमेरिकी कम्पनीहरूको सहभागिता र व्यापार सम्झौताहरू दुवैमा कमजोर देखिएको छ ।

हालको भ्रमणमा ट्रम्पसँग करिब १७ अमेरिकी कम्पनीका प्रमुख सहभागी भएका थिए । ट्रम्पले चीनसँग धेरै व्यापार सम्झौता भएको र त्यसमा बोइङका २०० वटा विमान खरिद गर्ने प्रतिबद्धता तथा थप अमेरिकी तेल खरिदसम्बन्धी सम्झौताहरू समावेश भएको बताएका छन् ।तर २०१७ मा भएको उनको अघिल्लो चीन भ्रमणसँग तुलना गर्दा यो संख्या र परिणाम दुवैमा उल्लेखनीय कम हो ।

२०१७ को भ्रमणमा ट्रम्पले करिब ३० जना अमेरिकी व्यवसायिक नेताहरूलाई साथमा लगेका थिए । त्यस समय अमेरिकी वाणिज्य मन्त्रालयले चीनसँग कुल २५० अर्ब डलरभन्दा बढी मूल्यका व्यापार सम्झौताहरू घोषणा गरेको थियो । त्यसबेला चीनले ३०० वटा बोइङ विमान खरिद गर्ने सहमति पनि गरेको थियो, जुन यस पटकको २०० विमानको प्रतिबद्धताभन्दा ठुलो हो ।

त्यस भ्रमणमा बोइङ, जनरल इलेक्ट्रिक, गोल्डम्यान श्याख्स र क्वालकम लगायत अमेरिकी कम्पनीका उच्च अधिकारीहरू सहभागी थिए । साथै दाउ केमिकल, हनीवेल र क्याटरपिलर जस्ता ठुला कम्पनीहरू पनि प्रतिनिधिमण्डलमा थिए । त्यो समयमा अमेरिका–चीनबिच ३७ वटा व्यापार सम्झौता घोषणा गरिएको थियो । यद्यपि ती सबै पूर्ण रूपमा कार्यान्वयन नभएको पनि पछि देखियो ।

आर्थिक सम्बन्ध कमजोर हुनुको सङ्केत हो ?

विश्लेषकहरूको भनाइमा यो फरक परिणामले अमेरिका–चीन आर्थिक सम्बन्ध पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको सङ्केत गर्छ । ट्रम्पले सुरु गरेका दुई व्यापार युद्धपछि चीनले अमेरिकी बजारमाथिको निर्भरता घटाएको छ, जसले यस पटकको वार्तामा चीनलाई केही हदसम्म बलियो स्थितिमा पुर्‍यायो । चीन अहिले आफ्नै घरेलु उद्योगहरूलाई बलियो बनाइरहेको छ, जसले धेरै विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको छ । यसै बैठकमा सहभागी भएका एप्पल र टेस्लाका उत्पादनसँग प्रतिस्पर्धा गर्ने कयौँ चिनियाँ कम्पनीहरू छन् । यसले विदेशी कम्पनीहरूका लागि चीनमा व्यापार गर्न पहिलेभन्दा धेरै चुनौतीपूर्ण वातावरण बनाएको छ 

भू–राजनीतिक तनाव र लगानीमा असर

अमेरिका–चीनबिचको सम्बन्धमा प्रविधि, सुरक्षा र भू–राजनीतिक तनावले पनि ठुलो प्रभाव पारेको छ । विशेष गरी सेमिकन्डक्टर, कृत्रिम बौद्धिकता (एआई) र उन्नत प्रविधिको क्षेत्रहरूमा लगाइएको प्रतिबन्धका कारण दुवै देशबिच लगानी र व्यापार सम्झौतामा कमी आएको छ। 

विश्लेषकहरूको भनाइमा यी संवेदनशील क्षेत्रहरू अहिले रणनीतिक प्रतिस्पर्धाका केन्द्र बनेका छन्, जसले व्यापार सम्झौताहरूलाई जटिल बनाएको छ ।

रणनीतिक भिन्नता

शाङहाई स्थित जोखिम परामर्श फर्म ब्लु ओशन एड्भाइजर्सका संस्थापक केन्ट केड्लका अनुसार २०१७ को प्रतिनिधिमण्डल मुख्य रूपमा निर्यात सम्झौताहरू सुरक्षित गर्न केन्द्रित थियो । 

तर यस वर्षको समूहले चीन बजारमा पहुँच  र ट्रम्पसँग सम्बन्ध विकासलाई प्राथमिकता दिएको देखिन्छ । यसले अमेरिकी कम्पनीहरूको रणनीतिमा परिवर्तन आएको सङ्केत गर्छ । 

उनका अनुसार पहिले अमेरिकी कम्पनीहरू चीनबाट ठुला–ठुला खरिद सम्झौता सुनिश्चित गर्न केन्द्रित थिए भने अहिले परिस्थिति बदलिएको छ । अहिले  यापार नभएर राजनीतिक सम्बन्ध र दीर्घकालीन बजार पहुँच बढी महत्त्वपूर्ण बनेको छ। 

 

कमेन्टहरु