विश्व

फेन्टानिलमा चीनलाई दबाब दिन सक्लान ट्रम्प ?

एजेन्सी
२०८३ बैशाख ३१ | मध्यान्ह ०३:०१ बजे

बेइजिङ । पहिलो र दोस्रो दुवै कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चीनबाट तस्करी भएर आउने फेन्टानिल टाउको दुखाइको विषय बनेको छ ।

फेन्टानिल र अन्य सिन्थेटिक लागुऔषध बनाउन प्रयोग हुने केमिकलको चीन सबैभन्दा ठुलो उत्पादक हो । मेक्सिकोलगायत देशले चीनबाट तस्करी भएर आउने केमिकल प्रयोग गरेर सिन्थेटिक लागुऔषध बनाइरहेका छन् । फेन्टानिलकै सेवनका लागि अमेरिकामा बर्सेनि हजारौँको ज्यान गइरहेको छ । यस्तोमा चीनले अमेरिकामा भित्रिने फेन्टानिल रोक्न नसकेको भन्दै ट्रम्प प्रशासनले चीनमाथि आरोप लगाइरहेको छ । 

तर चीनले भने आफ्नो फर्मा क्षेत्रमा नियन्त्रण कडा बनाइसकेको दाबी गर्दै आएको छ र अमेरिकाले एकतर्फी रुपमा धम्क्याइरहेको आरोप लगाएको छ । यो विवाद गत मार्चमा भएको संयुक्त राष्ट्र संघको बैठकमा पनि चर्को बनेको थियो । यसमा अमेरिकाले चीनमाथि कमजोर निगरानीको आरोप लगाएको थियो र चीनले त्यसलाई अस्वीकार गर्दै प्रतिक्रिया दिएको थियो । यसअघि डोनाल्ड ट्रम्प र सि जिनपिङबिच दक्षिण कोरियामा भएको भेटमा अमेरिका–चीन व्यापार तनाव घटाउने समझदारी भएको थियो ।

त्यस समयमा अमेरिका केही चिनियाँ सामानमा लगाइएका अतिरिक्त भन्सार महसुल घटाउने सहमतिमा पुगेको थियो, बदलामा चीनले फेन्टानिल नियन्त्रणमा कडाइ गर्ने वाचा गरेको थियो । तर हालै परिस्थितिमा परिवर्तन आएको छ । ब्रुकिङ्स इन्ष्टिच्यूटकी वरिष्ठ शोधकर्ता भान्दा फेलब्याब–ब्राउनका अनुसार चीनलाई दबाब दिने ट्रम्पको क्षमता कमजोर भएको छ ।

अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरीमा ट्रम्पका केही आपतकालीन अतिरिक्त भन्सार महसुल अवैध ठहर गरेपछि उनको चीनमाथि दबाब दिने क्षमता घटेको ब्राउन भन्छिन् ।

कमेन्टहरु