विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै


चितवन, वैशाख २७। भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको संख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो ।
डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताउनुभयो । बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ ।























