प्रबास

मस्कोको रेड स्क्वायरबाट पुटिनले गरे युक्रेन युद्धको बचाउ, नेटोको चर्को आलोचना

एजेन्सी
२०८३ बैशाख २६ | मध्यान्ह ०४:०१ बजे

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायरमा आयोजित वार्षिक विजय दिवस (भिक्ट्री डे) समारोहलाई सम्बोधन गर्दै युक्रेनमा भइरहेको सैन्य कारबाहीको बचाउ गरेका छन्।सयौँ सैन्य कर्मचारी र केही सीमित विश्व नेताहरूको उपस्थितिमा पुटिनले आफूले न्यायोचित युद्ध लडिरहेको दाबी गर्दै युक्रेनलाई नेटो ब्लकद्वारा सशस्त्र र समर्थित एक आक्रामक शक्ति भएको आरोप लगाएका हुन् ।

नाजी जर्मनीमाथि सोभियत संघले प्राप्त गरेको विजयको सम्झना स्वरूप मनाइने रुसको सबैभन्दा ठुलो राष्ट्रिय बिदाको अवसरमा पुटिनले नेटोको भूमिकालाई लिएर कडा टिप्पणी गरे। यस वर्षको विजय दिवस समारोहअघि रुस र युक्रेनबिच तीन दिने युद्धविरामको सहमति भएको छ, जसको घोषणा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए।

विगत झन्डै दुई दशकमा पहिलो पटक मस्कोको विजय दिवस परेडमा कुनै पनि सैन्य वा युद्ध सामग्रीहरू प्रदर्शन गरिएन। यद्यपि, कडा सुरक्षा घेराबिच रेड स्क्वायरमा ठुलो सङ्ख्यामा सैन्य कर्मचारीहरूले मार्च पास गरेका थिए। सम्बोधनको सुरुमा पुटिनले दोस्रो विश्वयुद्धका क्रममा सोभियत सैनिकहरूले दिएको बलिदानको स्मरण गर्दै वर्तमान समयमा युक्रेनमा खटिएका सैनिकहरूलाई सोही पुस्ताको वीरताले प्रेरित गरेको उल्लेख गरे।

पुटिनले आफ्नो सम्बोधनका क्रममा युक्रेन युद्धमा संलग्न सैनिकहरूले नेटोको समर्थन प्राप्त आक्रामक शक्तिको सामना गरिरहेको बताए। उनले भने, ‘विजेता पुस्ताको महान उपलब्धिले आज विशेष सैन्य अपरेसनको लक्ष्य पूरा गर्ने सैनिकहरूलाई प्रेरणा दिन्छ। उनीहरू पूरै नेटो ब्लकद्वारा सशस्त्र र समर्थित आक्रामक शक्तिको सामना गरिरहेका छन् र यसका बाबजुद हाम्रा नायकहरू अगाडि बढिरहेका छन्।’

पुटिनले युद्धको प्रयासमा योगदान पुर्‍याउने रुसी नागरिकहरू, वैज्ञानिक, आविष्कारक, सैन्य संवाददाता, चिकित्सक र शिक्षकहरूको समेत प्रशंसा गरे। सैन्य रणनीतिमा जस्तो परिवर्तन आए पनि देशको भविष्य जनताले नै सुनिश्चित गर्ने उनको तर्क थियो।

पुटिनको भाषण लगत्तै तोपका गोलाहरू पड्काइएको थियो र सैन्य ब्रास ब्यान्डले संगीत प्रस्तुत गरेको थियो। समारोहमा बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्को, लाओसका राष्ट्रपति थोंग्लुन सिसौलिथ र मलेसियाका राजा सुल्तान इब्राहिमको उपस्थिति थियो।

गत वर्षको ८० औँ वार्षिकोत्सव परेडमा चीनका राष्ट्रपति सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा लगायतका नेताहरू सहभागी भएको तुलनामा यस पटक विश्व नेताहरूको उपस्थिति निकै कम देखिएको छ।

कमेन्टहरु