विश्व

होर्मुजमा जहाजमा आगलागी : दक्षिण कोरियामा छानबिन सुरु

एजेन्सी
२०८३ बैशाख २५ | मध्यान्ह ०६:०१ बजे

सोल । दक्षिण कोरियाले स्ट्रेट अफ होर्मुजमा आफ्नो देशको जहाजमा भएको विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ । त्यहाँको समुद्री मन्त्रालयले बताएअनुसार सरकारले सो घटनाको छानबिन थालेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) नजिक रहँदा सोमबार उक्त जहाजको इन्जिन कक्ष क्षेत्रमा विस्फोट र आगलागी भएको थियो । जहाज सञ्चालन कम्पनी तथा दक्षिण कोरियाली अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् । 

इरानले दक्षिण कोरियाली जहाजमाथि आक्रमण गरेको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टेट अफ होर्मुजमा समुद्री सुरक्षा सुनिश्चित गर्न अमेरिकी नेतृत्वको प्रयासमा सहभागी हुन सोललाई आग्रह गरेका छन् । तर दक्षिण कोरियाले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

दक्षिण कोरियास्थित इरानी दूतावासले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै इरानी सशस्त्र बल जहाजमा भएको क्षतिमा संलग्न रहेको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको जनाएको छ ।

घटना भएको जहाजमा रहेका २४ जना चालक दल सदस्य, जसमा ६ जना दक्षिण कोरियाली नागरिक पनि थिए । यी सबै सकुशल रहेको बताइएको छ । घटनाको अनुसन्धान कहिलेसम्म सकिने भन्ने अनुमान गर्न अहिले नै कठिन रहेको समुद्री मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

कमेन्टहरु