विश्व

ट्रम्पको संकेतसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन गिरावट

एजेन्सी
२०८३ बैशाख २३ | बिहान ०९:०१ बजे

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौता हुन सक्ने संकेत गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ।मध्यपूर्वी क्षेत्रबाट तेलको आपूर्ति पुनः सुचारु हुने अपेक्षाका बिच बुधबार तेलको मूल्य ओरालो लागेको हो। बुधबार जुलाईका लागि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.५२ डलर अर्थात् १.३८ प्रतिशतले घटेर १०८.३५ डलर कायम भएको छ।

अघिल्लो कारोबार सत्रमा यसको मूल्यमा ४ प्रतिशतको गिरावट आएको थियो। त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) को जुन महिनाको मूल्य पनि १.५० डलर अर्थात् १.४७ प्रतिशतले घटेर प्रति ब्यारेल १००.७७ डलरमा झरेको छ, जुन अघिल्लो दिन ३.९ प्रतिशतले घटेर बन्द भएको थियो।

राष्ट्रपति ट्रम्पले मंगलबार साँझ अप्रत्याशित रूपमा स्ट्रेट अफ होर्मुजबाट फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ लाई केही समयका लागि रोक्ने घोषणा गरेका थिए। इरानसँग विस्तृत सम्झौताका लागि ठोस प्रगति भएको दाबी गर्दै उनले यो कदम चालेका हुन्, यद्यपि सम्झौताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

ट्रम्पको यो घोषणाबारे तेहरानबाट तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन। तर, यो लचकताका बिच पनि ट्रम्पले इरानी बन्दरगाहहरूमाथि अमेरिकी नौसेनाको नाकाबन्दी भने निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

विश्वको कुल तेल र प्राकृतिक ग्याँस आपूर्तिको झन्डै पाँचौँ हिस्सा ओगट्ने स्ट्रेट अफ होर्मुज जलमार्ग गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेदेखि नै ठप्प प्रायः बनेको छ। यसरी विश्व बजारमा आपूर्ति बन्द हुँदा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो, जसका कारण गत हप्ता ब्रेन्ट क्रुडको मूल्य सन् २०२२ को मार्चपछिकै उच्च विन्दुमा पुगेको थियो।

सामाजिक सञ्जालमा निर्णय सार्वजनिक गर्दै ट्रम्पले लेखेका छन्, ‘हामीले आपसी सहमतिमा नाकाबन्दी पूर्ण रूपमा लागू रहने गरी सम्झौता फाइनल र हस्ताक्षर हुन सक्छ कि सक्दैन भनेर हेर्नका लागि प्रोजेक्ट फ्रिडमलाई छोटो समयका लागि रोक्ने निर्णय गरेका छौँ।’

ट्रम्पको यो घोषणा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फसेका ट्याङ्करहरूलाई जलमार्गबाट बाहिर निकाल्ने अभियानबारे सञ्चारकर्मीहरूलाई ब्रिफिङ गरेको केही घण्टाभित्रै आएको हो। यसअघि सोमबार अमेरिकी सेनाले दुईवटा व्यापारिक जहाजलाई सुरक्षित रूपमा खाडी क्षेत्रबाट बाहिर निकाल्ने क्रममा इरानका केही साना डुङ्गा, क्रुज मिसाइल र ड्रोनहरू ध्वस्त पारेको दाबी गरेको थियो।

स्ट्रेट अफ होर्मुज बन्द हुँदा विश्वभरका तेल प्रशोधन केन्द्रहरूले माग धान्न आफ्नो मौज्दात प्रयोग गर्नुपरेको छ, जसका कारण विश्वव्यापी मौज्दातमा ठुलो ह्रास आएको छ। अमेरिकी पेट्रोलियम इन्स्टिच्युटको तथ्याङ्क अनुसार मे १ मा समाप्त भएको हप्तामा अमेरिकाको कच्चा तेलको मौज्दातमा ८१ लाख ब्यारेलको गिरावट आएको छ।

यसैगरी, पेट्रोलको मौज्दात ६१ लाख ब्यारेल र अन्य इन्धनको मौज्दात ४६ लाख ब्यारेलले घटेको छ। तेल आपूर्तिमा देखिएको यो दबाबका बिच ट्रम्पको पछिल्लो कूटनीतिक कदमले बजारलाई केही राहत दिएको भए पनि स्थायी शान्ति सम्झौता नभएसम्म बजारमा उतारचढाव कायमै रहने विश्लेषण गरिएको छ।

 

कमेन्टहरु