अपराध

व्यवसायी शेखर गोल्छा पक्राउ

नवलपुर टुडे
२०८३ बैशाख १० | मध्यान्ह ०७:०१ बजे

काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रि इन्स्योरेन्सका निवर्तमान अध्यक्ष शेखर गोल्छा पनि विचौलिया दीपक भट्ट र सुलभ अग्रवालको जालसाजी सेयर कारोबारमा संग्लन रहेको खुलेको थियो ।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार नक्सालबाट नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिएको ब्युरोको प्रवक्ता शिवकुमार श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। नेपाल धितोपत्र बोर्डले तयार पारेर अनुसन्धानकारी निकायमा पेस गरेको प्रतिवेदन ‘धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन–२०८३ ’मा भट्ट र अग्रवालको जालसाजी कारोबारमा व्यवसायीका नेता गोल्छा पनि संलग्न रहेको देखिएको हो ।

भट्ट तथा उनका साझेदार शंकर समूहका उपाध्यक्ष सुलभ सम्पत्ति शुद्धीकरण अभियोगमा नेपाल प्रहरीको हिरासतमा छन्। भट्टको शेयर कारोबारको विषयमा अध्ययन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधपछि धितोपत्र बोर्डले अनुसन्धान अघि बढाएको थियो। यो प्रतिवेदन बोर्डको सञ्चालक समितिले पारित गरी नेपाल प्रहरीमा समेत पठाएको छ । प्रतिवेदनले शेखर गोल्छा, हिमालयन रिइन्स्योरेन्स, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्ससहितलाई कसूर गर्न सघाएको भनी प्रष्ट टिप्पणी गरेको छ। अनुसन्धान शुरु गरिएपछि हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले केही साताअघि पदबाट राजीनामा दिएका थिए।

गोल्छा अध्यक्ष रहेका अवधिमा कम्पनीले करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ सहायक कम्पनी हिमालयन सेक्युरिटिजमा लगानी गर्ने निर्णय गरेको थियो । सोही सहायक कम्पनीमार्फत करिब २ अर्ब २१ करोड ९७ लाख रुपैयाँ कम्पनीकै सञ्चालक दीपक भट्टलाई दोस्रो बजारमा सेयर खरिदका लागि उपलब्ध गराइएको थियो । प्रचलित कम्पनी कानुन, बीमा सम्बन्धी नियमन र कर्पोरेट गभर्नेन्सका आधारभूत सिद्धान्तअनुसार कुनै पनि संस्थाले आफ्नो कोष यसरी प्रत्यक्ष वा परोक्ष रूपमा कुनै एक व्यक्तिको व्यक्तिगत लगानीमा प्रयोग गर्न दिनु गम्भीर उल्लंघन मानिन्छ ।

कमेन्टहरु