‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’: संयोजक दाहाल


काठमाडौं, वैशाख ९। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेकपा स्थापना दिवसका अवसरमा अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता औंल्याएका छन् ।बुधबार नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा स्थापना दिवस मनाइरहँदा नेपालको मात्र नभई विश्वस्तरमा कम्युनिष्ट आन्दोलनको भूमिका, जिम्मेवारी र अन्तर्राष्ट्रिय एकताको प्रश्नलाई गहिरो रूपमा समीक्षा गर्नुपर्ने बताए।
‘हामीले नेकपा स्थापना दिवस मनाइरहँदा अब हाम्रो अन्तर्राष्ट्रिय भूमिका के हुन्छ भन्ने कुरा गहिरो गरि विचार गर्नुपर्दछ । साम्राज्यवादी युद्ध समाजवादको पक्षमा विश्वभरीका श्रमजीविसँग नयाँ शिराबाट एकता गर्ने भनि हाम्रो पार्टीसहित संलग्न भएको दक्षिण एसियाका विभिन्न कम्युनिष्ट पार्टी र क्रान्तिकारीहरुको संयुक्त वक्तव्य निकालिएको छ,’ उनले भने ।
प्रचण्डले उक्त अपिलले विश्वराजनीतिमा नयाँ बहस सिर्जना गर्न सक्ने उल्लेख गर्दै अमेरिकाजस्ता शक्तिशाली मुलुकभित्र पनि साना–साना प्रतिरोधका झिल्का देखिन सक्ने टिप्पणी गरे ।
उनले विश्व इतिहासमा क्रान्तिकारी र वामपन्थी शक्तिहरूले जित र हारका अनेकौं श्रृङ्खला भोगेको स्मरण गर्दै अन्ततः जनपक्षीय र क्रान्तिकारी शक्तिकै विजय हुने विश्वास व्यक्त गरे ।उनका अनुसार नेकपा स्थापना दिवस केवल स्मरणको दिन नभई विगतका संघर्ष, उपलब्धि, कमजोरी र भावी दिशाबारे गम्भीर समीक्षा गर्ने अवसर पनि हो।
‘हामीले नेकपा स्थापना दिवस मनाइरहँदा विश्व इतिहासमा क्रान्तिकारी र बामपन्थीहरुको जित र हारका श्रृङखलाहरु कस्ता रहे र अन्तिम समयमा विजय कम्युनिष्टहरुको क्रान्तिकारीहरुको नै हुँदै कसरी आएको छ भन्ने कुराको पनि गम्भीर समिक्षा गर्नुपर्दछ,’ उनले भने । न्यूज बैंक






















