नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण


काठमाडौं । एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपाल पक्षका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न ओली पक्षका नेताहरुले सभामुखको ध्यानाकर्षण गराएको छ ।
बिहीबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएका हुन् । एमाले स्थायी कमिटी बैठकले भदौ १ गते माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
पार्टीले उनीहरूलाई कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ । एमालेले कारबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।
एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले बिहीबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिइएका हुन् ।






















