विचार/ब्लग

रास्वपाको आगामी कार्यदिशा : सम्भावना र चुनौती

भोजराज पाण्डेय
२०८३ बैशाख ६ | बिहान ११:०१ बजे

नेपाल । नेपालको राजनैतिक बृतमा रास्वपाको उदय र छलाङलाई अभुतपुर्व आश्चर्यको रुपमा लिनु पर्ने हुन्छ । स्थापनाको तेश्रो बर्ष पार हुंदा नहुंदै नेपाली जनताको जनमत द्धारा करिब दुई तिहाईको मत प्राप्त गरि शासनको बागडोर सम्हाल्ने अबसर प्राप्त हुनु आफैमा आश्चर्य नै हो । कसले पो बिश्वास गरेको थियो होला र राजनीतिलाई नै आजिबन पेशा बनाएर निरन्तर सत्ताको वरिपरि घुमिरहने पुराना राजनैतिक दलहरुको व्यापारमा यति छिटो मन्दी आउला भनेर ? नागरिकले राजनैतिक सदस्यता लिएको छ भन्दैमा सधै उसैको पछाडि लागिरहन्छन भन्ने कहां छ र ? एउटै घर परिवारमा त अचेल सानो सानो बिषयमा पनि परिवारका सदस्यहरु बीचमा बिमतिहरु हुन थालेका छन् भने कुनै दल बिशेषले नागरिकलाई सधै आफ्नो ईशारामा नचाउंछु र सदस्यताको नेल लगाइ रहन्छु भनेर सोच्ने दिन करिब करिब समाप्त भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले छोटो समयमा नै नेपालको समकालीन राजनीतिमा उल्लेखनीय उपस्थिति बनाएको छ । परम्परागत दलप्रति जनआस्थामा आएको गिरावट, सुशासनको अभाव, भ्रष्टाचारप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्व प्रतिको अपेक्षाका कारण रास्वपा एक वैकल्पिक शक्तिको रूपमा उदाएको हो । रास्वपाले लिएको नीति र नेतृत्वको कारण नेपाली जनताले रास्वपा प्रति प्रचुर आशा राखेका छन । यस्तो परिवेशमा रास्वपाको आगामी कार्यदिशा कस्तो हुनुपर्छ भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण बन्छ ।

सबैभन्दा पहिले, रास्वपाले आफ्नो मूल एजेन्डा सुशासन, पारदर्शिता र जवाफदेहितालाई अझ सशक्त रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ । बिबाद समाधान गर्ने तहमा रहेका जो कोही आफू बिबादको घेराबाट टाढा रहनु पर्दछ । चुनावी बाचापत्रमा उल्लेखत भएका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न नसकेमा जनविश्वास चाँडै कमजोर हुन सक्छ । बाचापत्रमा उल्लेख भएका कुराहरु कार्यान्वयन भए नभएको अनुगमन तथा मुल्याकंनको लागि पार्टिगत समिति वा संयन्त्र निर्माणमा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ । यस संयन्त्रले नीति निर्माणदेखि कार्यान्वयनसम्म स्पष्टता, निरन्तरता र परिणाममुखी दृष्टिकोणको सुक्ष्म अध्ययन गरि कार्यान्वयन गर्ने तहलाई निरन्तर रुपमा झकझकाउनु पर्दछ ।

दोस्रो, संस्थागत विकास र आन्तरिक लोकतन्त्र सुदृढ गर्नु रास्वपाको दीर्घकालीन सफलताको आधार हो । नयाँ पार्टी भएकाले संरचना अझै विकासको चरणमा छ । समाजको तल्लो तह सम्म संगठनको आधारशीला घनिभूत रुपमा निर्माण हुन सकेको छैन् । रास्वपामा स्वतन्त्र नागरिक भन्दा पनि अन्य पार्टी परित्याग गरि आएका सदस्यहरुको बाहुल्यता छ । जसले गर्दा सदस्यहरुलाई सांगठनिक एक्यबद्धतामा ढाल्नु चुनौति छ । नेतृत्व चयन, निर्णय प्रक्रिया र जिम्मेवारी बाँडफाँडमा पारदर्शिता कायम राख्दै आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउनु आवश्यक छ । पार्टी भित्रको संगठनात्मक शक्ति केन्द्रीकरण नगरि बिकेन्द्रीकरण गर्नु पर्दछ र पदीय संरचना र बांडफांडलाई बिबादको घेराबाट टाढा राखिनु पर्दछ ।

तेस्रो, नीतिगत स्पष्टता र दीर्घकालीन दृष्टिकोण तयार गर्नु जरुरी छ । केवल भ्रष्टाचार विरोधी नाराले मात्र दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित गर्न सक्दैन । नागरिकले अपेक्षा गरेको एउटा अध्याय पुरा त हुन्छ तर यसले मात्र दिगो सुनिश्चितता दिन सक्दैन् । अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, संघीयता र परराष्ट्र नीतिमा स्पष्ट र कार्यान्वयन योग्य योजनाहरू प्रस्तुत गर्नुपर्ने हुन्छ । विशेषगरी युवाहरूको रोजगारी सृजना, उद्यमशीलता प्रवर्द्धन र डिजिटल अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्न पर्दछ । मध्यपुर्वमा चलिरहेको संघर्षको कारण युवाहरु नेपाल फर्किरहेको सन्दर्भमा रोजगारीको अबसरहरु स्वदेशमै श्रृजना गर्न प्राथमिकता दिनु पर्दछ ।

चौथो, रास्वपाले सामाजिक सञ्जाल मार्फत राम्रो पहुँच बनाएको भए पनि ग्रामीण क्षेत्र र परम्परागत समुदायसँग प्रत्यक्ष सम्पर्क अझै सुदृढ गर्न सकेको छैन् । जनताका समस्या सुन्ने, सुझाव संकलन गर्ने र त्यसअनुसार नीति परिमार्जन गर्ने अभ्यासले पार्टीलाई जनतासँग नजिक राख्छ ।

जनताका समस्यालाई ध्यानपुर्वक सुन्न र तत्काल समाधानको लागि पहल गर्दा नागरिक बीचमा विश्वास कायम राख्न मद्दत पुर्‍याउँछ ।
पाँचौं, नेपालको वर्तमान राजनीतिक संरचनामा एकल बहुमत पाउन कठिन छ भन्ने भाष्यलाई रास्वपाले चिरेको छ । नागरिकको अपार आस्थाको कारण पार्टी करिब दुई तिहाईको संघारमा रहेर शासन संचालन गरिरहेको छ । यसलाई अक्षुण राख्नु पार्टीको लागि चुनौति रहेको भए तापनि यो वा त्यो वहानामा कोही पनि बिचलित हुनु हुंदैंन् । पदको आकांक्षि जो कोहि हुन सक्छ तर पद प्राप्त गर्ने म भन्दा सक्षम भएकोले पद प्राप्त गरेको हो भन्ने कुरामा सहमत भई सबैले सहयोग गर्नु पर्दछ । यसैगरि नेतृत्व विकास र कार्यकर्ता प्रशिक्षणमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । पार्टीको भविष्य सक्षम र इमान्दार नेतृत्वमा निर्भर हुन्छ । त्यसैले युवाहरूलाई अवसर दिने, उनीहरूलाई प्रशिक्षण र मार्गदर्शन प्रदान गर्ने र नेतृत्व क्षमताको विकास गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।

छैठौं, कानूनी शासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नु रास्वपाको पहिचानसँग जोडिएको विषय हो । यदि पार्टीले आफ्ना प्रतिनिधिहरूलाई नै जवाफदेही बनाउन सकेन भने यसको नैतिक आधार कमजोर हुन्छ । त्यसैले आन्तरिक अनुशासन र बाह्य रूपमा पनि निष्पक्ष छानबिन र कारबाहीको पक्षमा दृढ रहनुपर्छ । समावेशिता र सामाजिक न्यायलाई केन्द्रमा राख्नु आवश्यक छ । नेपालको विविध सामाजिक संरचनालाई ध्यानमा राख्दै सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्दछ, यसले पार्टीलाई व्यापक जनसमर्थन प्राप्त गर्न सहयोग पुर्‍याउँछ । आफ्नै किन नहोस, कानून उलंघन गर्ने र अनुशासनको दायरा नाघ्ने जो कोही प्रति पार्टी निर्मम हुनु पर्दछ ।

अन्ततः, रास्वपाको सफलता यसको इमान्दारी, निरन्तरता र परिणाम दिन सक्ने क्षमतामा निर्भर रहेको छ । जनताले नयाँ विकल्पको रूपमा दिएको अवसरलाई सही रूपमा उपयोग गर्न सकेमा यो पार्टी नेपालको राजनीतिक परिदृश्यमा दीर्घकालीन प्रभाव पार्न सक्षम हुनेछ । यसरी हेर्दा, रास्वपाको आगामी कार्यदिशा स्पष्ट, व्यवहारिक र जनमुखी हुनुपर्छ भन्ने कुरामा संन्देह रहेन । सुशासन, नीतिगत स्पष्टता, आन्तरिक लोकतन्त्र र जनसम्पर्कलाई सन्तुलित रूपमा अघि बढाउन र नागरिकका अपेक्षा र चाहनालाई प्राथमिकता साथ कार्यान्वयन गर्न सुरुवाती चरणबाट नै आक्रमक रुपमा अगाडि बढेमा रास्वपाको राजनीतिक भविष्य दीर्घकालीन सम्म सुरक्षित हुने देखिन्छ ।

कमेन्टहरु