विश्व

ऊर्जा सङ्कट टार्न ट्रम्प प्रशासनको यूटर्न : रुसी तेल खरिदका लागि फेरि दियो एक महिने छुट

एजेन्सी
२०८३ बैशाख ५ | बिहान ०९:०१ बजे

वासिङ्टन डिसी । विश्वव्यापी रूपमा बढ्दै गएको इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकी ट्रम्प प्रशासनले प्रतिबन्धित रुसी तेल खरिदका लागि दिइएको छुट लाई पुनः नवीकरण गरेको छ । रुसी तेलमा थप छुट दिने कुनै योजना नरहेको बताएको दुई दिनमै वासिङ्टनले आफ्नो अडान परिवर्तन गर्दै यस्तो निर्णय गरेको हो ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले शुक्रबार अबेर आफ्नो वेबसाइटमा नयाँ इजाजतपत्र जारी गर्दै आगामी मे १६ सम्मका लागि रुसी तेल खरिद गर्न अनुमति दिएको छ । अमेरिका-इजरायल र इरानबिचको युद्धका कारण विश्व बजारमा ऊर्जाको मूल्य अत्यधिक बढेपछि त्यसलाई सन्तुलनमा राख्न ट्रम्प प्रशासनले यो कदम चालेको हो । 

यो नयाँ इजाजतपत्रले अप्रिल ११ मा समाप्त भएको ३० दिने छुटलाई प्रतिस्थापन गरेको छ । यद्यपि, यो कारोबारमा इरान, क्युबा र उत्तर कोरियालाई भने सहभागी गराउन नपाइने सर्त राखिएको छ ।

यसअघि बुधबार मात्रै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुसी र इरानी तेलका लागि दिइएको छुट नवीकरण नगर्ने बताएका थिए । तर, इरानी तेलको छुट आइतबार समाप्त हुन लागेको सन्दर्भमा रुसी तेलको हकमा भने सरकारले आफ्नो निर्णय उल्ट्याएको छ । 

गत महिना मात्रै बेसेन्टले इरानलाई दिइएको छुटका कारण करिब १४ करोड ब्यारेल तेल विश्व बजारमा पुगेको र यसले ऊर्जा आपूर्तिको दबाब कम गर्न मद्दत पुगेको स्वीकार गरेका थिए ।

ट्रम्प प्रशासनको यो निर्णयको अमेरिकाभित्रै सत्तारुढ र विपक्षी दुवै दलका सांसदहरूले कडा आलोचना गरेका छन् । उनीहरूका अनुसार यस्तो छुटले एकातिर युक्रेनसँग युद्ध गरिरहेको रुस र अर्कोतिर अमेरिकासँगै युद्धमा होमिएको इरानको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्छ । 

विज्ञ ब्रेट एरिकसनका अनुसार यो नवीकरण अन्तिम नहुन सक्छ, किनकि विश्वव्यापी ऊर्जा बजारमा द्वन्द्वले पुर्‍याएको क्षति गम्भीर छ र यसलाई स्थिर बनाउने उपायहरू लगभग सकिँदै गएका छन् ।

रुसी राष्ट्रपतिका दूत किरिल दिमित्रिएभका अनुसार पहिलो चरणको छुटले मात्रै १० करोड ब्यारेल रुसी कच्चा तेल बजारमा पुग्नेछ, जुन विश्वको एक दिनको कूल उत्पादन बराबर हो । यस्ता छुटले विश्वव्यापी आपूर्तिमा केही राहत दिए पनि स्ट्रेट अफ होर्मुजमा भएको अवरोधका कारण आकासिएको इन्धनको मूल्य पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।

यसैबिच, वासिङ्टनको यो लचिलो नीतिले युरोपेली सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा भने चिसोपन ल्याउन सक्ने देखिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले रुसमाथिको प्रतिबन्ध खुकुलो पार्ने यो उपयुक्त समय नभएको बताउँदै आएकी छन् । 

 

कमेन्टहरु