विश्व

होर्मुज खुला भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ९ प्रतिशतले गिरावट

एजेन्सी
२०८३ बैशाख ५ | बिहान ०८:०१ बजे

काठमाडौँ । इरान र अमेरिकाबिचको तनाव कम भई स्ट्रेट अफ होर्मुज व्यापारिक जहाजका लागि खुला रहने समाचार बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब ९ प्रतिशतले गिरावट आएको छ । युद्धको जोखिमका कारण आकासिएको तेलको मूल्य इरानको पछिल्लो नरम नीतिका कारण नाटकीय रूपमा ओरालो लागेको हो ।

इरानले युद्धविरामको बाँकी अवधिसम्म सबै व्यापारिक जहाजका लागि स्ट्रेट अफ होर्मुज खुला रहने घोषणा गरेपछि बजारमा राहतको सङ्केत देखिएको हो । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अब उक्त जलमार्ग कहिल्यै बन्द नगर्न सहमत भएको दाबी गरेपछि लगानीकर्ताहरूमा रहेको अनिश्चितता कम भएको छ । जसको प्रत्यक्ष असर तेलको मूल्यमा देखियो र शुक्रबार ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा अप्रिल ८ पछिकै सबैभन्दा ठूलो गिरावट दर्ता भयो ।

बजार बन्द हुँदा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९.०१ डलर अर्थात ९.०७ प्रतिशतले घटेर ९०.३८ डलरमा कायम भयो । कारोबारको एक समयमा यो घटेर ८६.०९ डलरसम्म पुगेको थियो । त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य १०.४८ डलर अर्थात ११.४५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८५ डलरमा सीमित भयो ।

रोयटर्सका अनुसार इरानका एक वरिष्ठ अधिकारीले सबै जहाजहरू स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्न सक्ने तर त्यसका लागि इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग समन्वय गर्नुपर्ने बताएका छन् । यो सम्झौताको बदलामा इरानको रोक्का गरिएको कोषलाई फुकुवा गर्ने सर्तसमेत समावेश गरिएको ती अधिकारीको दाबी छ ।

पछिल्लो दुई हप्तादेखि युद्धको जोखिमका कारण तेलको मूल्यमा जुन रिस्क प्रिमियम थपिएको थियो, त्यो अहिले तीव्र गतिमा हट्न थालेको विश्लेषकहरूले बताएका छन् । बजार अहिले सम्भावित अवरोधको डरबाट मुक्त भई वास्तविक आपूर्ति र प्रवाहको दिशामा फर्किएको छ ।

जहाज ट्रयाकिङ तथ्याङ्कका अनुसार करिब २० वटा ठूला जहाजहरू अहिले खाडी मुलुकबाट स्ट्रेट अफ होर्मुज हुँदै बाहिर निस्कने क्रममा देखिएका छन्, जसले तेल आपूर्ति सहज बन्दै गएको पुष्टि गर्छ ।

कमेन्टहरु