स्वास्थ्य

फोक्सोभित्र नत्थीको टुक्रा अड्किएपछि…

एजेन्सी
२०८३ बैशाख ३ | मध्यान्ह ०५:०१ बजे

काठमाडौँ । मेक्सिकोमा मोनिका डेयानिरा क्याब्रेरा बराजस नाम गरेकी २६ वर्षिय महिलालाई एक महिनासम्म लगातार खोकी लागिरह्यो । एक्सरेबाट समस्या पत्ता लाग्छ कि भन्ने उनको सोच थियो । तर, एक्सरेमा जे देखियो त्यो देखेर उनी अचम्मित भइन् । एक्सरेको रिपोर्टमा उनको फोक्सोभित्र नाकको नत्थीको सानो टुक्रा अड्किएको देखियो ।

सुरुमा सामान्य समस्या ठानेर अस्पताल पुगेकी उनले एक्सरेको रिपोर्ट आएपछि मात्रै आफ्नो नत्थी हराएको थाहा पाइन् । उनका अनुसार, सम्भवतः सुतिरहेको बेला नत्थीको सानो हिस्सा खसेर घाँटी हुँदै साससँगै भित्र पसेको हुनु पर्छ । “म त उत्तानो सुतिरहेको थिए, कसरी यस्तो भयो थाहै छैन, ” अनजानमै साससँगै तानेको हुनसक्ने अनुमान उनले सुनाइन् ।

डाक्टरहरूले बताएअनुसार धातुको उक्त पियर्सिङ उनको मुटुसँग जोडिएको मुख्य रक्तनली एओर्टाबाट शून्य दशमलव ५ मिलिमिटर मात्रै टाढा थियो । यसलाई निकाल्न शल्यक्रिया गर्नुपर्‍यो । डाक्टरहरूले १ घण्टा २० मिनेट प्रयास गर्दासमेत यसलाई निकाल्न सकेनन् ।

त्यसपछि दोस्रो जटिल शल्यक्रिया गर्नुपर्‍यो । नत्थीको टुक्रोले फोक्सो वा एओर्टामा क्षति पुर्‍याएको भए उनको मृत्यु नै हुन सक्थ्यो भनेर चिकित्सकहरूले भनेका छन् । यस घटनापछि महिलाले भविष्यमा पुनः सेप्टम पियर्सिङ नगर्ने निर्णय लिएकी छन्। 

कमेन्टहरु