एमाले समाजवादी दर्ता गर्नु हाम्रो बाध्यताको उपज हो : रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । नेपाल समूहले बुधबार निर्वाचन आयोगमा एमाले समाजवादी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै झाँक्रीले पार्टी एकताको ढोका बन्द नभएको बताइन् ।
झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुई वटा पार्टीको स्टाटसमा एकताको सम्भावना त जहिले पनि रहन्छ चाहे त्यो निर्वाचन अगाडि होस् या निर्वाचन पछाडि, तत्काल वा एक महिनापछि वा दुई महिनापछि जहिले पनि सम्भावना रहन्छ । हामी एकताबद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाजवादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’
उनले पार्टीमा शृङ्खलाबद्ध ढंगले कारवाही गरेर बस्न नसक्ने अवस्था भएपछि बाध्यात्मक रुपमा नयाँ पार्टी गठनको कदम चाल्नुपरेको उल्लेख गरिन् । उनले पार्टी एकताको संभावना भने नटरेको दावी गरिन् ।






















