उपेन्द्रको भन्दा ठूलो र सशक्त पार्टी बनाउने ठाकुर पक्षको घोषणा, नयाँ दल दर्ताका लागि सर्वोच्चमा निवदेन


काठमाडौं । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवदेन दिएका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै अध्यादेशको बलमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया सुरु गरेको महन्थ ठाकुर पक्षले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावी गर्दै आगामी दिनमा थप सशक्त बनाउने घोषणा गरेको छ ।
तत्कालीन राजपा र समाजवादी पार्टी एकता हतारमा गर्दा खल्तीका मान्छे धेरै समेटिएको भएपनि अहिले आफूहरुको पार्टीमा क्षमतावान नेताहरु रहेकाले जनताको विश्वास रहेको महन्थ ठाकुर पक्षीय नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको भनाइ छ ।
‘एउटा कुरा एक ध्यान दिनुपर्छ भने पार्टी बन्ने बेलामा रातारात घोषणा गरियो । धेरै गोजीका मान्छे समेटियो । कार्यकारिणीमा हेर्नुहुन्छ, वार्ड जित्ने क्षमता भएका कति जना हुनुहुन्छ ?’, उपेन्द्रको पार्टीका नेताहरु कमजोर रहेको दावी गर्दै उनले भने, ‘उपेन्द्रको पार्टीमा राम्रा मान्छे छैनन् ।’
सांसद चन्दा चौधरीका अनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद छन् । पार्टीले तत्काल सरकारमा नजाने नीति बनाएको छ । आफूहरुको माग पुरा गरेको खण्डमा सरकारमा जान सकिने सो पार्टीको भनाइ छ ।
मधेस आन्दोलनका राजबन्दीको रिहाइ, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ संविधान संशोधनलगायतका मागमा सरकार प्रतिबद्ध भए यसबारे सोच्न सकिने ठाकुर पक्षको भनाइ छ । ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेका छन् ।






















