एमाले समाजवादी दर्ताका लागि नेपाल समूहले दिए सर्वोच्चमा निवेदन


काठमाडौं । नेकपा एमाले विभाजनपश्चात् माधव कुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने भएकाले नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।
नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा ओलीले गरेको क्रियाकलाप, व्यवहार, दुई दुई पटक संसद विघटन गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
नयाँ पार्टीको अध्यक्षमा माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले बताए । एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले भने नेता नेपालका पक्षमा छैनन् ।
नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डे भन्छन्, ‘भोलि उहाँहरु कहाँ हुनुहुन्छ, भोलिका दिनले देखाउँला । आज उहाँहरु हुनुहन्न ।’ माधव नेपालले नयाँ दल बनाए साथ दिन्छु भन्दै आएका उपाध्यक्ष बामदेव गौतम पनि उपस्थित छैनन् ।
छिट्टै राष्ट्रिय सम्मेलन गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने नेता पाण्डेले बताए । उनले अझै पनि एमाले मै अलमलिएर रहेका नेताहरुलाई पनि चाँडै एमाले समाजवादीमा आउन समेत आहृवान गरे । नेता नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।






















