इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा


महेन्द्रनगर । पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमका ठूला विकास आयोजनाहरूको काम गम्भीर रूपमा प्रभावित बनेको छ। इन्धनको अभाव र मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्ने जनाउँदै हात झिक्न थालेपछि रणनीतिक महत्त्वका सडक र सिँचाइ आयोजनाहरू बन्द हुने अवस्थामा पुगेका हुन्।
सेती राजमार्गको दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना) को काम अहिले लगभग ठप्प छ। आयोजना प्रमुख रामकुमार देवका अनुसार निर्माण व्यवसायीसँग भएको मौज्दात इन्धन सकिएपछि ट्रयाक खोल्न प्रयोग गरिएका ठूला मेसिन र उपकरणहरू थन्किएका छन्।२०७४ सालदेखि सुरु भएको यो २०४ किलोमिटर लामो आयोजनाको ३५ किलोमिटर ट्रयाक अझै खोल्न बाँकी छ। “यस वर्ष ७ किलोमिटर कालोपत्रे त भयो, तर अहिले बिटुमिन र इन्धनको अभावले बाँकी काम रोकिने अवस्थामा पुग्यो,” देवले भने।
यस्तै अवस्था सुदूरपश्चिमकै गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणमा पनि देखिएको छ। मूल नहर निर्माणका लागि सातवटा प्याकेजमा काम भइरहेको भए पनि निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण काम गर्न नसकिने भन्दै कार्यालयमा निवेदन दिएका छन्।
आयोजनाका सूचना अधिकारी यादव बरालका अनुसार इन्धन मात्र नभई नदी नियन्त्रणका लागि आवश्यक पर्ने तारजालीको मूल्यसमेत आकासिएकाले ठेक्का लागेका कामहरू अघि बढ्न सकेका छैनन्। यसले बर्सातको समयमा नदी तटीय क्षेत्रमा ठूलो जोखिम निम्त्याउने खतरा बढेको छ।
कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोरको काम पनि महँगीको चपेटामा परेको छ। ४२५ किलोमिटर लामो यो करिडोरमा १३ वटा प्याकेजमा काम भइरहेको थियो। तर, इन्धन र बिटुमिनको मूल्य बढेपछि निर्माण व्यवसायीहरूले काम छाड्न थालेका छन्। करिडोर योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले मूल्य समायोजन नहुँदासम्म काम अघि बढाउन मुस्किल रहेको बताए।
निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले निर्माण उद्योगमा ‘आपत्काल’ घोषणा गर्नुपर्ने अवस्था आएको बताएका छन्। बजारमा निर्माण सामग्रीको अभाव र अचाक्ली मूल्यवृद्धिका कारण व्यवसायीहरू घरखेत बेच्नुपर्ने स्थितिमा पुगेको उनको गुनासो छ।
कञ्चनपुरका ६०० भन्दा बढी निर्माण व्यवसायीहरूले अहिले ‘निर्माण होलिडे’ को तयारी गरिरहेका छन्। सरकारले मूल्यवृद्धि समायोजन नगरेसम्म ठूला मेसिनरी चलाउन र काम सुचारु गर्न नसकिने अडान व्यवसायीहरूको छ।






















