देश

प्रदेशवासीको नाममा सम्बोधन गर्दै विदा भए राजेश झा, राज्यको कुनैपनि सुविधा नलिने घोषणा

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह १२:०५ बजे

रामनारायण यादव
जनकपुरधाम । गत सोमबार पदमुक्त भएका प्रदेश नम्बर २ का प्रमुख राजेश झा (अहिराज)ले प्रदेश वासीका नाममा सम्वोधन गर्दै आज (बुधबार) विहान मधेश भवन छाडेका छन् ।
photo 2021 08 18 12 40 30

सरकारी निवास छाड्नुअघि गरिएको सम्वोधनमा पद र शक्ति सधैं नरहने बताए । उनले भने, ‘पद र शक्ति सधैंका लागि कोहीसँग रहँदैन । मुख्य कुरा देश र जनताका लागि कति योगदान गर्न सकियो भन्ने हो ।’
आफूलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियुक्त गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी, नियुक्तिका लागि सिफारिश गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल सरकारप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दै उनी प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका हुन् ।

प्रदेश प्रमुखको रुपमा ५ महिना २४ दिन कार्य गर्दा सहयोग गर्ने प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामति कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा प्रदेशवासीमा समेत उनले धन्यवाद ज्ञापन गरेका छन् ।

photo 2021 08 18 12 40 31

झाले सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा आफ्नो भूमिका सदैव रहिरहने भन्दै पदमुक्त भएपश्चात पदीय हैसियतले प्राप्त हुने राज्यको कुनैपनि सुविधा नलिने घोषणा समेत गरे ।
`देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा गर्दछु´ उनले भने ।

उनले आफू प्रदेश प्रमुखमा नियुक्त भई प्रदेशको पावन भूमिमा पाइला राख्ने बेलामा ‘शिरमा देश र मनमा मधेश’ लाई राखी कार्य गर्नेछु भन्दै सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गरेकोले सो प्रतिबद्धतालाई सदैव आत्मसात गरिरहने बताए । प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो निजी सवारी साधनमा बिदा भएका उनी सिधै काठमाण्डौतर्फ लागेका छन् ।

सरकार परिवर्तन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार उनलाई पदबाट बर्खास्त गरेको थियो । उनको स्थानमा सरकारले मंगलबार हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिसकेको छ । नवनियुक्त प्रदेश प्रमुख मिश्रले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु