देश

ओलीले ल्याएको अध्यादेशको विरुद्धमा उभिनेले अहिलेको अध्यादेश समर्थन गर्ने कुनै हक छैन : गगन थापा

जगत ठाडा मगर
२०७८ भदौ २ | मध्यान्ह १२:०५ बजे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन् ।

अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने भए केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने थापाको भनाइ छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैँ गलत, जसले गरे पनि गलत र हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।´

साथै उनले ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको पनि बताएका छन् । ‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

सरकारले दल विभाजन गर्न सजिलाे हुने गरी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपतिलाई सिफारिस गरेकाे छ। तर अहिलेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश प्रमाणिकरण गरेकी छैनन्।

कमेन्टहरु