वीरगञ्ज सुन अपरेशनको नालीबेली : मक्किएको दराजमा खजना !


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-५, रशमकोठीमा रहेको गणेश अपार्टमेन्ट आसपास दुई दिनदेखि नयाँ व्यक्तिहरु देखिएका थिए ।
शनिबार अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बर फ्ल्याटमा तिनै व्यक्तिलाई बर्दीमा देखेपछि स्थानीयले थाहा पाए- बिहीबारदेखि देखिएका नयाँ व्यक्ति जिल्ला प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय, विर्ताबाट खटिएका सादा पोशाकका प्रहरी रहेछन् ।
यहीँबाट प्रहरीले शनिबार २३ किलोभन्दा बढी र दुई किलो बढी चाँदी बरामद गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्तलाई प्राप्त सूचनाको आधारमा दुई दिनसम्म रेकी गरेर छापा हानेको टोलीले कुल २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गरगहना तथा भाडाकुडा बरामद गरेको हो ।
एसपी पन्तका अनुसार कोही आउलान् र व्यक्तिसहित घरमा भएको अवैध सामग्री बरामद गरौंला भनेर प्रहरी टोली बसेको थियो ।
तर छरछिमेकसँग गरिएको सोधपुछबाट पनि फ्याल्टमा कमै मात्र मानिस आउने गरेको पाइएपछि शनिबार एसपी पन्तको नेतृत्वमा विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले अपार्टमेन्टको ढोका फुटाएको थियो । एसपी पन्त भन्छिन्, ‘कोही नआउने थाहा पाएपछि स्थानीय जनप्रतिनिधिलाई बोलाएर ताला फोडिएको हो ।’ हाल सुन कहाँबाट आएको थियो र कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनी बताउँछिन् ।























