देश

पश्चिम नवलपरासीमा काेराेना भेराेसेल खाेपकाे दोस्रो मात्रा लगाइँदै

जगत ठाडा मगर
२०७८ भदौ १ | मध्यान्ह ०६:०५ बजे

सुरेश यादव
नवलपरासी / भदौ १, पश्चिम नवलपरासीमा आज देखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । चीन सरकारबाट प्राप्त उक्त खोप जिल्लाका सातै स्थानिय तहमा आज देखि तीन दिन लगाईने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि भेरोसेल खोप लगाएकाहरुलाई आज देखि दोस्रो मात्रा प्रदान गर्न लागिएको पाेखरेलले बताउनुभयो । यसअघि खोप प्राप्त गरेको २१ दिन पुरा भएकालाई खोप लगाईने छ ।

जिल्लाकाे सातै स्थानिय तहका खोप केन्द्रबाट खोप लगाईदै छ । पायक पर्ने ठाउँमा गएर भेरोसेलको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

जिल्लामा हाल सम्म झण्डै ६५ हजार जनालाई कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाइएको छ । जसमध्ये आधा भन्दा बढिले दोस्रो मात्रा पाउन बाँकि छ । केही दिन अगाडि मात्रै कोभिशिल्डको पहिलो मात्रा लगाएका वृद्धवृद्धालाई कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त स्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाईएको थियाे ।

कोरोना संक्रमण बढ्दै जाँदा खोपको आवश्यकता पनि बढिरहेकाले सरकारबाट प्राप्त खोपलाई उचित व्यवस्थापन गरि सातै स्थानिय तहबाट व्यवस्थीत तवरले लगाउने कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कमेन्टहरु