बोडेका २९ वर्षीय सुजनले चौथोपटक जिब्रो छेड्ने


भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि मनाइँदै छ । बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।
नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । यस वर्ष पनि आफैँले जिब्रो छेडेर जात्रा मनाउने उनले बताए ।
कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएका थिए । त्यसपछि उनका भाइ बुद्धकृष्णले नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए । तीन वर्षदेखि बुद्धकृष्णका कान्छा छोराले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकामा यस वर्ष चौथोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका हुन् ।
जात्राका कर्मी नायोसमेत रहेका कृष्णचन्द्रले चार सय वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताए । जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए ।
यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दा अगाडि हजारौँले जयजयकार गरेको देख्दा आफूलाई कहिले जिब्रो छेडौजस्तो लाग्ने गरेको बताउँदै सुजनले पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमंगले दुखाइसमेत याद नभएको बताए ।
पहिला जिब्रो छेड्ने मानिसको कमी हुने गरे पनि यस वर्ष भने चार युवाले जिब्रो छेड्न रहर गरेको उनले बताए । उनले आफूले सक्ने भएसम्म जिब्रो छेडेर जात्रा सञ्चालन गर्ने उल्लेख गरे । सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा म सँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेर यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्धीप बोकेर बोडे देश घुम्नेछु ।”
बुद्धकृष्णले भने, “मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासंँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष युवाहरू तयार हुनुपर्छ ।”
जात्राअघि चैत २८ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नाय लगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा रहेको उनी बताउँछन् ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०९ वर्ष जिब्रो छेडेको रेकर्ड रहेको छ ।






















