दुर्घटना

लमजुङमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु १२ जना घाइते

नवलपुर टुडे
२०८२ चैत्र २१ | मध्यान्ह ०७:१२ बजे

लमजुङ । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार बेसीसहरबाट उस्तातर्फ जाँदै गरेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबीमा शुक्रबार साँझ करिब पौने ६ बजे दुर्घटना भएको हो ।

जिपमा चालकसहित १४ जना सवार रहेको बताइएको छ। दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा मर्स्याङ्दी–७ उस्ताकी ४० वर्षीया त्रिवेणी गुरुङ र ३४ वर्षीया पुष्पा घले रहेका छन् । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु