प्रबास

यूएईमा क्षेप्यास्त्रको अवशेष खस्दा एकको मृत्यु, चार घाइते

एजेन्सी
२०८२ चैत्र २१ | मध्यान्ह ०१:१२ बजे

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को सबैभन्दा ठुलो प्राकृतिक ग्यास प्रशोधन केन्द्र ‘हब्शान’ मा आकाशमै नष्ट गरिएको क्षेप्यास्त्रको अवशेष खस्दा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।अबु धाबी मिडिया अफिसले शुक्रबार दिएको जानकारी अनुसार एयर डिफेन्स सिस्टमले सफलतापूर्वक क्षेप्यास्त्र रोक्ने क्रममा त्यसका टुक्राहरू भुईँमा खस्दा ग्यास खानीका दुई स्थानमा आगलागी भएको हो।

यस दुखद घटनामा परेर एक जना इजिप्टका नागरिकको ज्यान गएको पुष्टि भएको छ।  कार्यस्थलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा उनको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

त्यस्तै, आगलागी र भागदौडमा परेर दुई जना पाकिस्तानी र अन्य दुई जना इजिप्टका नागरिक सामान्य घाइते भएका छन्। क्षेप्यास्त्रको अवशेषले हब्शान ग्यास फ्यासिलिटीमा ठुलो क्षति पुर्‍याएको छ र अहिले त्यहाँ भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेयता पश्चिम एसिया मा इरानले लगातार क्षेप्यास्त्र र ड्रोन प्रहार गरिरहेको छ। खाडी क्षेत्रका देशहरूमध्ये यूएई इरानी आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ। इरानले यस क्षेत्रका ऊर्जा केन्द्र र नागरिक सुविधाहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेपछि खाडी मुलुकहरूमा सुरक्षा चुनौती झन् थपिएको छ।

कमेन्टहरु