समाचार

चट्याङका कारण १२ वर्षमा एक हजारभन्दा बढीको मृत्यु

रासस
२०८२ चैत्र १८ | मध्यान्ह ०६:१२ बजे

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ । तीमध्ये ४६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न सकेको छैन ।

चट्याङबाट तीन ४०८ जना घाइते भएका छन् । तीमध्ये एक हजार ३१७ पुरुष, एक हजार ६३३ महिला छन् । चार हजार २९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ । साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ ।

पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८४९ वटा पशुचौपायामा क्षति पुगेको छ । केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल रु ११ करोड ८२ लाख १८ हजार २६० बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिए । 

के हो चट्याङ ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकका अनुसार चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो । फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलतः यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ ।

चट्याङबाट बच्न पूर्वतयारी र सावधानी अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकले चट्याङबाट हुने जोखिम घटाउन समयमा पूर्वतयारी र सचेतना अपनाउन सबैलाई आग्रह गरेको छ । प्राधिकरणले आधिकारिक निकायबाट जारी हुने पूर्वसूचना र जानकारीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो ।

हाते पुस्तकअनुसार चट्याङका बेला सुरक्षित स्थान र व्यवहारबारे अग्रिम जानकारी राख्नु आवश्यक छ । यसबारे घरपरिवार, छिमेकी तथा समुदायमा छलफल गरी सचेतना फैलाउनुपर्ने उल्लेख गरिएको छ । विद्यालय, कलेज तथा टोलस्तरमा समेत चट्याङबाट जोगिने अभ्यास सञ्चालन गर्न सुझव दिएको छ ।

घरवरिपरि रहेका अग्ला रुखहरू हटाउने वा होचो बनाउने साथै घरको विद्युतीय प्रणालीमा गुणस्तरीय अर्थिङ व्यवस्था गर्नुपर्ने जनाइएको छ । अर्थिङले चट्याङको करेन्टलाई जमिनमा सुरक्षित रूपमा प्रवाह गर्न मद्दत गर्दछ । चट्याङ सक्रिय हुने समयमा अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त क्षेत्रमा भीड नगर्न पनि आग्रह गरिएको छ ।

घरबाहिर हुँदा अपनाउनुपर्ने सावधानी

चट्याङ परिरहेका बेला बाहिर परेमा तत्काल सुरक्षित भवनभित्र पस्नुपर्ने सुझाव दिइएको छ । रुख, बिजुलीका पोल वा टावर नजिक बस्न नहुने, छाता प्रयोग नगर्नु पर्ने तथा खेतबारीमा काम गरिरहेको अवस्थामा काम रोकी सुरक्षित स्थानमा जानुपर्ने उल्लेख गरिएको छ । सुरक्षित ओत उपलब्ध नभएमा शरीरलाई सानो बनाएर घुँडा समातेर बस्नुपर्ने, समूहमा भए अलगअलग र टाढा बस्नुपर्ने बताइएको छ । खोला, पोखरी वा स्वीमिङ क्षेत्रमा रहेमा तुरुन्त बाहिर निस्कन र माछा मार्ने वा र्‍याफ्टिङजस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ । त्यस्तै, साइकल वा मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा सवारी साधन रोकी ओर्लनुपर्ने र धातुका वस्तु नछुनुपर्ने सुझाव दिइएको छ ।

घरभित्र हुँदा के गर्ने ?

प्राधिकरण वरिष्ठ हाइड्रोलोजिष्ट शर्माले घरभित्र रहँदा झ्यालढोका बन्द गरी सुक्खा स्थानमा बस्नुपर्ने, तारयुक्त टेलिफोन प्रयोग नगर्नुपर्ने तथा सकेसम्म मोबाइल फोनसमेत प्रयोग नगर्न सुझाव दिए । उनका अनुसार चार्जमा रहेका विद्युतीय उपकरणहरू हटाउने, टिभी, कम्प्युटरजस्ता उपकरण बन्द गरी प्लग निकाल्नुपर्छ ।

कमेन्टहरु