चितवनको पटिहानीमा फुड एण्ड म्युजिक फेस्टिवल, चर्चित कलाकारहरुले दर्शक झुमाउने


चितवन । पश्चिम चितवनको पटिहानीमा कसरा टुरिजम फुड एण्ड म्युजिक फेस्टिवल हुने भएको छ । पटिहानी ईभेन्ट्स र लुप ईभ्नेट्सको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम चैत २९, ३० र बैशाख १ गते तीन दिन हुनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक पटिहानी ईभेन्ट्सका सिईओ मिलन पौडेलले जानकारी दिए । भरतपुर २२ पटिहानी टाउनमा हुने कार्यक्रमको तिनै दिन नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।
पहिलो दिन चैत २९ गते चर्चित रक ब्याण्ड दि स्याडोज नेपालसँगै चितवनलाई नै प्रतिनिधित्व गर्ने कटाव द स्कार्पमेन्ट, अध्याय ब्याण्ड र डिजे घोस्टको बेजोड प्रस्तुति रहनेछ । लामो समयपछि म्युजिकल टुरमा निस्केको स्याडोज ब्याण्डले चितवनमा पनि लामो समयपछि सांगितिक प्रस्तुति दिन लागेको हो । यही कारण पनि दर्शकहरुको माया पाउने विश्वास रहेको पौडेलको भनाइ छ ।
कार्यक्रमको दोस्रो दिन अर्थात न्यु ईयर ईभमा युवा पुस्ता माझ लोकप्रिय लाउरे एण्ड दि ब्याड कम्पनी, केहर एण्ड दि लुङ्गासँगै आर्यन एण्ड दि क्लस्टर, दृश्य ब्याण्ड र डिजे निक्सले दर्शकहरुलाई भरपुर मनोरन्जन दिनेछन् । तेस्रो तथा अन्तिम दिन अर्थात नयाँ वर्षको दिन चर्चित गायिका एलिना चौहान, प्रकाश दुतराज, शब्द ब्याण्ड र डिजे फ्लाईको प्रस्तुति रहने लुप ईभेन्ट्सका सिईओ बिक्रम मोक्तानले बताए ।
पहिलो र तेस्रो दिनको टिकट शुल्क तीन सय तथा दोस्रो दिनका लागि पाँच सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमको अनलाइन टिकट खल्ती एपबाट लिन सकिनेछ । यस्तै फिजिकल टिकट पनि उपलब्ध रहेको मोक्तानले बताए ।
कार्यक्रमले पटिहानी तथा कसरा क्षेत्रको पहिचानलाई थप उचाई दिनका लागि ठूलो भूमिका खेल्ने विश्वास लिएको संयोजक सविन ढकालले बताए । कार्यक्रममा सांगितिक प्रस्तुतिसँगै रैथानेसँगै अन्य खानाका स्टलहरु पनि रहनेछन् । रैथाने खानासहितको २५ वटा स्टल रहने उनले बताए ।
यसैबीच सोही कार्यक्रमकै मार्फत कसरा टुरिजम डटकम वेवसाइट पनि सार्वजनिक गरिनेछ । कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि वेवसाइट सार्वजनिक गर्न लागिएको उनले बताए । यस्तै कसरा क्षेत्रको पर्यटन प्रवर्द्धनकै लागि कार्यक्रमस्थलमा छुट्तै बुथ पनि राखिनेछ। जहाँ पर्यटकहरुले कसरा क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बारेमा जानकारी लिन सक्नेछन् ।
कार्यक्रमको तयारी धमाधम भइरहेको संयोजक ढकालले बताए । कार्यक्रम सम्पन्न गर्न ३९ लाख ५० हजार खर्च हुने अनुमान रहेको ढकालले जानकारी दिए ।






















