समाचार

कोलिय गणराज्यको एकीकृत विकासका लागि पर्यटन मन्त्रालयमा छलफल

पुरुषोत्तम सुवेदी
२०८२ चैत्र १७ | बिहान ११:१२ बजे

नवलपरासी, चैत १७  । पश्चिम नवलपरासीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्त्वका स्थलहरूको समग्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको छ । पर्यटन मन्त्री खड्ग राज पौडेल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ताबीच भएको उक्त छलफल विशेष गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलहरूलाई एउटै संयन्त्रभित्र ल्याएर एकीकृत विकास गर्ने विषयमा केन्द्रित थियो ।

उक्त भेटघाटमा स्थानीय सरोकारवाला तथा पर्यटन क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहेको थियो । विज्ञहरूले यी ऐतिहासिक क्षेत्रहरूको विकासले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने र धार्मिक पर्यटनको नयाँ ढोका खुल्ने सुझाव दिएका थिए।
छलफलमा सांसद गुप्ताले विश्वकै एक मात्र बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप, प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पण्डितपुर, बुद्धले प्रव्रज्या (केश मुण्डन) गरेको अनोमा घाट र ऐतिहासिक देवदह ताल (तरङ्गौली) लगायतका क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनका लागि मन्त्री समक्ष माग राख्नुभएको छ। सांसद गुप्ताले यी क्षेत्रहरू लुम्बिनीसँग प्रत्यक्ष जोडिएको भए तापनि अपेक्षाकृत विकास हुन नसकेको भन्दै छुट्टै गुरुयोजना मार्फत अघि काम अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।

छलफलमा पर्यटन मन्त्री पौडेलले रामग्राम र पण्डितपुर क्षेत्रको ऐतिहासिक गरिमा अन्तर्राष्ट्रिय स्तरको रहेको स्वीकार गर्दै यसको विकासका लागि मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताउनुभयो । उहाँले कोलिय गणराज्यको पहिचान जोगाउन आगामी बजेटमा यी क्षेत्रका लागि प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो ।
छलफलमा नवलपरासीमा छरिएर रहेका बुद्धकालीन स्थलहरूको संरक्षणका लागि ‘कोलिय गणराज्य संरक्षण विकास समिति’ गठन गर्ने बारे सांसद गुप्ताले जोड दिनुभयो। रामग्राम स्तूप र पण्डितपुरको व्यवस्थित उत्खनन तथा अनोमा घाट र देवदह तालको पर्यटकीय पूर्वाधार निर्माण गर्न सके नवलपरासी (पश्चिम) लुम्बिनी पछिको दोस्रो ठूलो पर्यटकीय गन्तव्य (हब) बन्ने विश्वास व्यक्त गरीएको छ।

कमेन्टहरु