कपिलवस्तुमा अवैध कुखुराका चल्ला नष्ट


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका-११ मोतिपुर क्षेत्रमा अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका २८ सय ८० ब्रोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ । साेमबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको गस्ती टोलीले पूर्व-पश्चिम लालपुरदेखि मोतिपुर गाउँतर्फ जाने भित्री सडक खण्डको छेउमा बेवारिसे अवस्थामा उक्त चल्लाहरू फेला पारेको थियो ।
प्रहरीका अनुसार चल्लाहरू भारतबाट अवैध रूपमा भित्र्याई पैदल तथा युपी ५५ एफ ४०१३ नम्बरको भारतीय मोटरसाइकलमार्फत लुकाइछिपाइ ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ तथा पशु नियमावली, २०५६ को दफा ९ र १० उल्लंघन गरेको पाइएपछि बरामद चल्ला नष्ट गरिएको हाे ।
बरामद गरिएका चल्लाहरूलाई स्थानीय, जनप्रतिनिधि तथा पशु क्वारेन्टाइन चेकपोस्ट कृष्णनगरका प्रतिनिधिको रोहबरमा प्रहरी कार्यालय परिसर जमिनमा खाडल खनी माटोले पुरेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।






















