कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री


जनकपुरधाम । नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।
धनुषा तथा महोतरी जिल्ला गरी दुई जिल्लामा सो कार्यालयले किसानलाई सम्बन्धित पालिकाको सिफारिसमा रासायनिक मल वितरण गर्दै आएको छ । उक्त दुवै जिल्लाका २७ पालिकाहरूमा २१२ वटा आधिकारिक डिलरमार्फत उक्त रासायनिक मल बिक्री गर्दै आएको छ । हाल कार्यालयको गोदाममा एक हजार १९२ मेट्रिकटन युरिया, ८३८ मेटिकटन डिएपी मल तथा ३६१ मेट्रिकटन पोटास मौज्जदात रहेको कार्यालयद्वारा जारी तथ्याङ्कमा जनाइएको छ ।
हालको सिजनका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्जदात रहेको उहाँले भन्नुभयो । उहाँले पालिकाका किसानका लागि छुट्याइएको रासायनिक मल सम्बन्धित निकायले लिन नआएको प्रमुख साहको भनाइ छ । गत आर्थिक वर्षमा सो कार्यालयले रु ३५ करोड मूल्य बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो । धनुषा तथा महोतरीका सीमा क्षेत्रका किसानले भारतीय सीमाबाट रासायनिक मल खरीद गरी ल्याउने गरेको छ ।























