देश

लमजुङ प्रहरीद्धारा छ जना फरार अभियुक्त पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ३२ | बिहान ०९:०४ बजे

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका छ जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार दुई र आइतबार चार जना गरी दुई दिनमा छ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका विभिन्न मुद्दाका अभियुक्तलाई खोज तलास गर्दा छ जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

प्रहरीले लागु औषध (ब्राउन सुगर) मुद्धामा ९ वर्षदेखी फरार रहेका बेसीशहर नगरपालिका ७ बस्ने २९ वर्षीय अम्मर बहादुर गुरुङलाई पक्राउ गरेको छ । उनलाई शनिबार बेंसीशहर नगरपालिका ७ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कार्कीले बताए ।

यसै गरी चोरी सम्बन्धी मुद्धामा फरार रहेका १८ दिन कैद र २० हजार ३ सय २५ जरिवाना भएका बेंसीशहर नगरपालिका ४ का २३ वर्षीय रविन गुरुङलाई पनि पक्राउ गरेको छ । उनलाई बेंसीशहर नगरपालिका ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै बहुबिबाह मुद्दामा २० बर्षदेखी फरार रही १ महिना कैद सजाय बाकी रहेका बेंसीशहर नगरपालिका ३ का वर्ष ४५ का मिनकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनलाई राईनास नगरपालिका ६ बाट लुकिछिपि बसेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । यस्तै, जालसाजी मुद्दाका एक जना, सम्बन्ध बिच्छेद मुद्दाका एक जना र लुटपिट मुद्दाका एक जना गरी जम्मा छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आइतबार जिल्ला अदालत लमजुङमा पेश गरेकोमा अम्मरबहादुर गुरुङ, मिनकुमार श्रेष्ठ र रविन गुरुङ कारागार चलान भएका छन् । अन्य तीन जना जरिवाना बापतको रकम बुझाएर छुटेका छन । जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरुलाई पछिल्लो समय खोजिकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर एवं सुचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने ‘अदालतबाट प्राप्त लगतअनुसार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले खोजी गरी पक्राउ अभियान नै सञ्चालन गरेको छ ।’

कमेन्टहरु