स्वास्थ्य

कलेजोमा जमेको बोसोलाई घटाउन सक्छ भिटामिन बी३

एजेन्सी
२०८२ चैत्र १५ | मध्यान्ह ०१:१२ बजे

सोल । फ्याटी लिभरको समस्याले पछिल्लो समय विश्वभर मादक पदार्थ सेवन नगर्ने व्यक्तिहरूलाई पनि असर गरिरहेको छ । विज्ञहरूको टोलीले गरेको नयाँ अध्ययनले फ्याटी लिभर रोगको उपचारमा एक सामान्य पौष्टिक पूरक अत्यधिक प्रभावकारी भएको पत्ता लगाएको छ । 

जीवनशैली र आहार व्याहारको गडबडीबाट सबैभन्दा बढी प्रभावित अंगहरू मध्ये एक कलेजो पनि हो । यो हाम्रो शरीरको लागि एक महत्त्वपूर्ण अङ्ग हो । यसले शरीरमा रहेका विषाक्त तत्त्वहरूलाई निकाल्न, मेटाबोलिजम कायम राख्न र पोषक तत्त्वहरूको अवशोषण बढाउन मद्दत गर्दछ । त्यसकारण, यस अंगमा देखिने  कुनै पनि समस्याले सम्पूर्ण शरीरमा हानिकारक प्रभाव पार्न सक्छ ।

मेडिकल रिपोर्टहरूले पनि फ्याटी लिभर वा कलेजोमा बोसो जम्मा हुने रोगका बिरामीहरू विश्वव्यापी रूपमा बढ्दै गएको संकेत गर्दछ । बच्चाहरूदेखि वृद्धहरूसम्म यसबाट सबै प्रभावित छन् । रक्सीले कलेजोलाई सबैभन्दा बढी क्षति पु‍र्याउँछ, तर रक्सी नपिउनेहरूमा पनि फ्याटी लिभरको जोखिम देखिएको छ । यो अवस्थालाई नन–अल्कोहोलिक फ्याटी लिभर रोग (एनएएफएलडी) भनिन्छ ।

तर विज्ञहरूले यसको उपचार गर्ने प्रभावकारी तरिका पत्ता लगाएका छन् । दक्षिण कोरियाको उल्सान नेशनल इन्ष्टिच्यूट अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले यो बुझ्नको लागि एक अध्ययन गरेका थिए ।

फ्याटी लिभरका लक्षणहरू

  • भोक नलाग्नु
  • बिना कारण तौल घट्दै जानु
  • हात र खुट्टा सुन्निनु
  • जन्डिस
  • पेट दुख्नु
  • थकान

यो रोगमा माइक्रोआरएनए–९३ भनिने सानो अणुले प्रमुख भूमिका खेल्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । माइक्रोआरएनएहरू साना अणुहरू हुन् जसले जीनले कसरी काम गर्छ भनेर नियन्त्रण गर्छन् । फ्याटी लिभर भएका व्यक्तिहरूमा माइक्रोआरएनए–९३ को स्तर उल्लेखनीय रूपमा उच्च हुन्छ । एउटा सामान्य पोषक तत्व भिटामिन बी३ यो अवस्थाबाट पीडितहरूका लागि लाभदायक हुन सक्छ भनेर विज्ञहरूले सुझाव दिएका छन् । मेटाबोलिज्म जर्नलमा प्रकाशित यस अध्ययनको प्रतिवेदनमा, अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन् कि आहारमा भिटामिन बी३ को मात्रा बढाउनाले यो अवस्थाबाट राहत मिल्न सक्छ ।

मुसाहरूमा पनि गरिएको थियो अध्ययनहरू

माइक्रोआरएनए–९३ ले एसआईआरटी १ नामक लाभदायक जीनलाई रोकेर कलेजोको स्वास्थ्य समस्याहरू बढाउन अहम् भूमिका खेल्ने अध्ययनले पत्ता लगाएको छ । जब एसआईआरटीले राम्रोसँग काम गर्न पाउँदैन, तब कलेजोमा बोसो जम्मा हुन थाल्छ । जसले गर्दा सून्निने, घाउ हुने र कलेजोको काम गर्ने क्षमतामा पनि कमी आउँछ । फ्याटी लिभरको समस्यालाई कम गर्न वैज्ञानिकहरूले मुसामा माइक्रोआरएनए–९३ स्तर घटाउन जीन सम्पादन प्रविधिहरू प्रयोग गरेका थिए ।

यसको नतिजा प्रभावशाली पाइयो । समयसँगै मुसाको कलेजोको जम्मा भएर बसेको बोसो घट्यो, इन्सुलिन संवेदनशीलतामा सुधार आयो, र कलेजोको स्वास्थ्यमा पनि सुधार आयो । अनुसन्धानकर्ताहरूले १५० वटा अहिले नै प्रचलनमा आइरहेको औषधिहरूको परीक्षण गर्दा सबैभन्दा रोमाञ्चक कुरा थाहा भयो । भिटामिन बी३ (नियासिन) माइक्रोआरएनए–९३को स्तर घटाउन सबैभन्दा प्रभावकारी रहेको उनीहरूले पत्ता लगाए । भिटामिन बी३ युक्त पूरकहरू दिइएका मुसाहरूमा नियासिनले एसआईआरटी गतिविधि पुनर्स्थापित गर्‍यो र कलेजोमा बोसोको मेटाबोलिजममा पनि सुधार गर्‍यो ।

भिटामिन बी३ युक्त आहार, वा आवश्यक परेमा पूरकहरू फ्याटी लिभरको समस्या भएका बिरामीहरूका लागि नयाँ र किफायती उपचार विकल्प हुन सक्ने विशेषज्ञहरूको ठम्याई छ । यद्यपि, फ्याटी लिभरको उपचारमा यसको प्रभावकारिता प्रमाणित गर्न थप अध्ययनहरू आवश्यक छ । 

कमेन्टहरु