आज हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना


काठमाडौँ, चैत्र १४ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। देशभर अधिकांश बादल लागेको छ। हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ।






















