शिक्षा, समाचार

एसईई प्रश्नपत्र देशैभर पुग्यो: ६ दिनपछि परीक्षा सुरु

नवलपुर टुडे
२०८२ चैत्र १३ | बिहान ०८:१२ बजे

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) ६ दिनपछि सुरु हुँदै छ । परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सामेल हुँदै छन् । परीक्षामा २ लाख ५७ हजार ५ सय २७ छात्रा र २ लाख ५२ हजार ४ सय ३४ छात्र छन् । परीक्षामा छात्राको संख्या बढी छ । चैत १९ बाट सुरु हुने परीक्षामा १ हजार ९ सय ६६ परीक्षा केन्द्र कायम गरिएको छ ।

गतवर्ष जापानको एकसमेत गरी २ हजार ८० केन्द्र कायम गरिएको थियो । गतवर्षको तुलनामा यो वर्ष १ सय १४ केन्द्र घटेको छ । गतवर्ष ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी थिए, यो वर्ष ४ हजार घटेर करिब ५ लाख १० हजार परीक्षार्थीले परीक्षा दिँदै छन् ।

परीक्षामा करिब ३० हजार सुरक्षाकर्मीसहित ७५ हजार कर्मचारी परिचालन गर्ने तयारी छ । सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रश्नपत्रहरू केन्द्र नजिकैको प्रहरी कार्यालयमा राखिएको छ । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जनक शिक्षामा छापिएको प्रश्नपत्र उतैबाट ढुवानी गरिएको जानकारी दिनुभयो ।

परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । बिहान ८ बजेबाट सञ्चालन हुने परीक्षामा फरक क्षमता भएका परीक्षार्थीलाई अवस्था हेरेर थप डेढ घण्टा समय थप गरिएको छ । फाराम भरेका ५ लाख ९ हजार ९ सय ६१ विद्यार्थीमा नियमिततर्फका ४ लाख ४६ हजार ५ सय ७६ र गे्रडवृद्धितर्फका ६३ हजार ४ सय ८५ रहेको नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय सुरक्षा संयन्त्रसँग समन्वय गरिएको छ । परीक्षा नियन्त्रक अधिकारीले १६ गते बोर्ड र सुरक्षाको बैठक बसेर परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न सहयोगको आह्वान गर्दै अपिल जारी गर्ने जानकारी दिनुभयो ।

‘परीक्षामा विद्यालयका प्रअलाई केन्द्राध्यक्ष र सहायक प्रअलाई सहायक केन्द्राध्यक्ष तोकिएको छ । परीक्षाका जिल्ला समन्वय ईकाई र प्रदेश सरकारको मातहतमा रहेको प्रदेश परीक्षा बोर्डका अधिकारीले मात्र अनुगमन गर्नेछन् । अनुगमनका क्रममा भीडभाड गर्ने पुरानो परम्परा हटाएका छौं’ –परीक्षा नियन्त्रक अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

उहाँका अनुसार विगतभन्दा व्यवस्थित बनाउन सुरक्षा र समन्वयमा जोड दिएको छ । पहिलो दिन १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । २० गते अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ । नयाँ पाठ्यक्रममा आधारित विषयको परीक्षा सञ्चालन हुने बोर्डको परीक्षा तालिकामा उल्लेख छ ।

एसईई दिने विद्यार्थीका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बोर्डका अनुसार जापानको एभरेस्ट विद्यालयबाट यो वर्ष २३ विद्यार्थीले एसईई दिँदै छन् । परीक्षा नियन्त्रक अधिकारीले डर, त्रास र भयरहित वातावरणमा परीक्षा हुने जानकारी दिनुभयो । परीक्षा नियन्त्रक अधिकारीले विद्यार्थीलाई कुनै पनि दबाब नदिन आग्रह गर्नुभयो ।

यो वर्ष पनि विगतजस्तै असार तेस्रो साताभित्र परीक्षाफल प्रकाशित गर्ने नियन्त्रक अधिकारीले बताउनुभयो । बोर्डको कार्यतालिकामा एसईईको परीक्षाफल सकेको ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ । बोर्डले प्रदेशअनुसार फरकफरक प्रश्नपत्र तयारी गरेको छ ।

परीक्षालाई मर्यादिन र व्यवस्थित गर्न सुरक्षा निकाय, प्रदेश सरकार, प्रदेश शिक्षा निर्देशनालय र स्थानीय निकायसँग समन्वय गरिसकेको जानकारी दिनुभयो ।

परीक्षामा मोबाइल, डिजिटल घडी, किताब, गाइड, गेसपेपस वर्जित गरेको छ । बोर्डले ७७ वटै जिल्ला शिक्षा समन्वय इकाइलाई पत्राचार गरी आचार संहितालाई कडाइका साथ पालना गराउन निर्देशन दिएको छ । परीक्षामा बालसुधार केन्द्र र कारागारमा केन्द्र निर्धारण गरेको छ ।

साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । बोर्डले प्रायः सबै विषयमा दुईसेट प्रश्नपत्र छापेर ढुवानी गरिसकेको छ । गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले परीक्षामा कुनै समस्या आए राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने उल्लेख छ ।

कमेन्टहरु