बिश्व

एसियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

एजेन्सी
२०८२ चैत्र ११ | मध्यान्ह ०२:१२ बजे

काठमाडाैँ ।  एसिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एसियाको हिस्सा निरन्तर बढिरहेको छ ।‘एसियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार सन् २०२६ मा एसियाली अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा एसियाको हिस्सा २०२५ को ४९.२ प्रतिशतबाट बढेर ४९.७ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

संस्थाका महासचिव झाङ जुनले ‘एसियाली शताब्दी’ सुरु भइसकेको धारणा बलियो बन्दै गएको बताएका छन् । उनले चुनौतीहरू भए पनि एसियाली अर्थतन्त्र लचिलो र सकारात्मक दिशामा रहेको उल्लेख गरे ।

सन् २००१ मा स्थापना भएको उक्त संस्था एक गैर–सरकारी, गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जसले क्षेत्रीय आर्थिक एकीकरणलाई प्रोत्साहन गर्छ । यस वर्षको सम्मेलन मार्च २४ देखि २७ सम्म हैनानमा ‘साझा भविष्य निर्माणः नयाँ गतिशीलता, नयाँ अवसर, नयाँ सहकार्य’ नारासहित आयोजना भइरहेको छ ।

प्रतिवेदन अनुसार एशिया विदेशी लगानीका लागि अझै पनि प्रमुख गन्तव्य बनेको छ, जहाँ चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको समूह सबैभन्दा आकर्षक केन्द्रका रूपमा देखिएका छन् ।

प्रविधि क्षेत्रमा पनि एसिया तीव्र रूपमा अगाडि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता विकासको केन्द्र क्रमशः युरोप र अमेरिकाबाट एशियातर्फ सर्दै गएको उल्लेख गरिएको छ । ठूलो डिजिटल जनसङ्ख्या, विविध प्रयोग प्रणाली र स्पष्ट नीतिका कारण एशियाली देशहरू यस क्षेत्रमा अग्रणी बन्दै गएका छन् ।

साथै, दिगो विकासतर्फ एसिया महत्त्वपूर्ण शक्तिका रूपमा उदाउँदै गएको छ । परम्परागत ऊर्जाको ठूलो उपभोक्ता रहँदै आएको एशिया अहिले स्वच्छ तथा हरित ऊर्जाको विकासमा अग्रणी बन्दै गएको प्रतिवेदनले जनाएको छ ।

क्षेत्रीय व्यापारमा पनि सुधार देखिएको छ । एसियाभित्रकै व्यापार निर्भरता २०२३ मा ५६.३ प्रतिशतबाट बढेर २०२४ मा ५७.२ प्रतिशत पुगेको छ, जसले क्षेत्रीय आर्थिक एकीकरण बलियो बन्दै गएको सङ्केत गर्छ ।

विशेषज्ञहरूका अनुसार एसिया विश्व सेवा व्यापारको मुख्य चालक बन्ने दिशामा अघि बढिरहेको छ । डिजिटल पूर्वाधारमा लगानी, ठूलो बजारको माग र क्षेत्रीय सहकार्यले यो परिवर्तनलाई गति दिएको हो ।

यसैबिच ‘चीन वर्ष’ पनि यसै वर्ष परेको छ । ‘साझा समृद्धिका लागि एशिया–प्रशान्त समुदाय निर्माण’ भन्ने नारासहित चीनले नोभेम्बरमा ३३औँ आर्थिक नेताहरूको बैठक आयोजना गर्नेछ ।

कमेन्टहरु