शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक


सुनसरी । रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो।
कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उनले बताए। शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्तस्थल मानिन्छ । सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गर्छ । सो समयमा पर्यटकको चाप पनि बढ्ने गरेको समितिको भनाइ छ।
एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेको यस क्षेत्र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ । वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ । उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ।
करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारद्वारा गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित दुई करोड रुपैयाँले विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए।
पोखरीकोबिचमा अवस्थित रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ले सिमसारको आकर्षण थप बढाएको छ । यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत भारतबाट पर्यटक आउने गरेका छन्।























