श्रीलङ्कामा लिटरकै ३९८ रुपैयाँ पुग्यो पेट्रोल


कोलम्बो । श्रीलङ्कामा इन्धनको मूल्य फेरि तीव्र रूपमा बढाइएको छ । दुई साताभित्रै दोस्रो पटक गरिएको मूल्यवृद्धिपछि पेट्रोल र डिजेलको मूल्य उल्लेखनीय रूपमा उकालो लागेको हो ।
मूल्यवृद्धिले यातायात खर्च मात्र नभई बजारमा वस्तु तथा सेवाको मूल्यसमेत थप महँगो हुने सङ्केत देखिएको छ । सरकारी स्वामित्वको सीलोन पेट्रोलियम कर्पाेरेशनका एक अधिकारीका अनुसार यस कदमले इन्धन खपत १५ देखि २० प्रतिशतसम्म घटाउने अपेक्षा गरिएको छ । तर व्यवहारमा भने मूल्यवृद्धिले सर्वसाधारणको खर्च बढाउने र आर्थिक बोझ थप्ने सम्भावना बढी देखिएको छ ।
राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मध्यपूर्वमा लम्बिन सक्ने द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा असर पर्ने चेतावनी दिँदै देशलाई त्यसका लागि तयार रहन आग्रह गरेका छन् । विशेष गरी इरानमाथि अमेरिका र इजरायलद्वारा गरिएका आक्रमणले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा अस्थिरता ल्याउने आँकलन गरिएको छ ।























