सुडानको अस्पतालमा आक्रमण: १३ बालबालिकासहित ६४ जनाको मृत्यु


दार्फर । सुडानको दार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको साङ्घातिक आक्रमणमा परी कम्तीमा ६४ जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार मृत्यु हुनेमा १३ जना बालबालिका समेत रहेका छन्।पूर्वी दार्फर राज्यको राजधानी अल देइनमा रहेको अल देइन टिचिङ हस्पिटलमा शुक्रबार राति यो आक्रमण भएको हो। आक्रमणमा दुई महिला नर्स र एक पुरुष डाक्टरसहित कैयौँ बिरामीले ज्यान गुमाएका छन्।
महानिर्देशक टेड्रोसले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार आक्रमणमा परी अन्य ८९ जना घाइते भएका छन्, जसमा आठ जना स्वास्थ्यकर्मी समेत रहेका छन्। यो आक्रमणले अस्पतालको बालरोग विभाग, प्रसूति सेवा र आकस्मिक कक्षमा ठूलो क्षति पुर्याएको छ। जसका कारण अस्पताल पूर्ण रूपमा बन्द भएको छ र सहरमा अत्यावश्यक चिकित्सा सेवा पूर्ण रूपमा टुटेको छ।
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बिच विगत तीन वर्षदेखि जारी गृहयुद्धका क्रममा स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा परेर मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। डब्लूएचओका अनुसार हालसम्म स्वास्थ्य क्षेत्रमा २१३ वटा आक्रमण पुष्टि भइसकेका छन्, जसमा २ हजार ३६ जनाले ज्यान गुमाएका छन्।
शुक्रबारको यो पछिल्लो आक्रमण कसले गराएको हो भन्नेबारे तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
सन् २०२३ को अप्रिलको मध्यदेखि सुरु भएको यो युद्धले विश्वकै सबैभन्दा तीव्र गतिमा बढिरहेको मानवीय सङ्कट निम्त्याएको छ। युद्धका कारण अहिलेसम्म हजारौँ मानिस मारिएका छन् भने १ करोड २० लाखभन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन्। दुवै पक्षमाथि युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप लाग्दै आएको छ। विशेष गरी दार्फर क्षेत्रमा आरएसएफले गरेको हिंसालाई संयुक्त राष्ट्र संघका विज्ञहरूले नरसंहारको संज्ञा दिएका छन्।























