समाज

लहानका महिलालाई बेमौसमी तरकारी खेती तालिम: आयआर्जन र स्वरोजगारमा जोड

रासस
२०८२ चैत्र ८ | बिहान ०७:१२ बजे

सिरहा । आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि परेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ लहान नगरपालिका– २० हरिनगरामा ६५ दिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु भएको छ ।हेल्भेटास नेपालको आर्थिक सहयोगमा ‘सिलिड्स सीप र सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्रबारबाट यो तालिम सञ्चालन गरिएको हो । ट्रेड लिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालिमार्फत सञ्चालित यो तालिम ‘लेभल—१’ स्तरको हुनेछ, जसमा २० जना महिलाको सहभागिता छ ।

तालिमको उद्घाटन गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले सीप नै आत्मनिर्भरताको पहिलो खुड्किलो भएको बताए । उनले भने, “नगरपालिकाले कृषि र स्वरोजगारलाई प्राथमिकतामा राखेको छ । तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी खेतबारीमा उतार्नुहोस् । मेहनत गर्ने किसानका लागि बजार र आवश्यक सहयोगका लागि नगरपालिका सधैँ तयार छ ।”

त्यस्तै, वडा नं २० का वडाध्यक्ष गणेशकुमार चौधरीले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न यो तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले थपे, “हाम्रो वडाका दिदीबहिनीले आफ्नै गाउँघरमा बसेर आयआर्जन गर्न सकुन् भन्ने हाम्रो चाहना हो । यो ६५ दिनको सिकाइले यहाँका महिलालाई उद्यमी बनाउनेछ र घर खर्चका लागि अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ भन्ने विश्वास लिएको छु ।”

तालिमको प्रभावकारिता र अपेक्षित उपलब्धिबारे जानकारी दिँदै हेल्भेटासकी कार्यक्रम अधिकृत निरमा चौधरीले तालिमपछिको आम्दानीमा जोड दिए । “हरिनगरासँगै सिरहाकै कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि महिलाहरूलाई यसैगरी व्यावसायिक तरकारी उत्पादन तालिम प्रदान गरिनेछ । यो तालिम केवल सिकाउनका लागि मात्र होइन, यसले ठोस् परिणाम दिनुपर्छ । तालिम पूरा गरिसकेपछि यहाँका प्रत्येक सहभागीले बेमौसमी तरकारी खेतीबाट मासिक कम्तीमा रु १५ हजारसम्म आयआर्जन गर्न सक्ने हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । यसका लागि हामी छ महिनासम्म फलोअप र रोजगारीमा सहयोग पनि गर्नेछौँ,” उनले भने ।

तालिम अवधिभर सहभागीहरूलाई व्यावसायिक खेती गर्ने तरिका, बीउ छनोट, रोगकीरा नियन्त्रण र आधुनिक प्रविधिको प्रयोगबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिइने आयोजकले जनाएको छ ।

कमेन्टहरु