खुले माधबको पक्ष दुई जना सांसद, अध्यक्षबाट राजीनामा दिन ओलीलाई आग्रह

जगत ठाडा मगर
२०७८ साउन ३१ | बिहान १०:०४ बजे

बुटवल । लुम्बिनी प्रदेशसभास्थित एमालेका दुई जना सांसद स्पष्ट रूपमा माधव कुमार नेपाल पक्षमा खुलेका छन् । शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि प्रदेशसभा सदस्य विष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा स्पष्ट रूपमा खुलेका हुन् ।
नेपाल निकट एमाले रूपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएसँगै उनीहरूले कित्ता स्पष्ट गरेका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।
यता शनिबारको नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागेको छ । दुई/दुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको राजु गुरुङले बताए ।






















