भारतको समाचार एजेन्सी ‘यूएनआई’काे कार्यालय सिल गरियो


नयाँ दिल्ली । भारतको प्रतिष्ठित समाचार एजेन्सीहरूमध्ये एक युनाइटेड न्युज अफ इन्डिया ‘यूएनआई’ को दिल्लीस्थित प्रधान कार्यालय प्रहरीले सिल गरेको छ। शुक्रबार दिल्लीको रफी मार्गमा रहेको उक्त कार्यालयमा पुलिस र केन्द्र सरकारको सम्पत्ति विभागको टोली पुगेर भवन खाली गराएको हो।
यूएनआईका एक वरिष्ठ कर्मचारीले घटनाको विवरण दिँदै भने, ‘साँझपख सरकारी कर्मचारीहरू आए र लिज सकिएको भन्दै हामीलाई तुरुन्तै निस्कन भने। उनीहरू सिधै न्युजरुममा पसेर कर्मचारीहरूलाई जबरजस्ती तानेर बाहिर निकाले।’
यस घटनापछि यूएनआईले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर आपत्ति जनाएको छ। उसले लेखेको छ, ‘देशको सम्मानित समाचार एजेन्सीको कार्यालय सिल गरिनु प्रेस स्वतन्त्रताका लागि गम्भीर चिन्ताको विषय हो।’ एजेन्सीले आफ्ना कर्मचारीहरूलाई व्यक्तिगत सामानसमेत लिन नदिइएको र उनीहरूमाथि दुर्व्यवहार तथा धक्कामुक्का गरिएको आरोप लगाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ठुलो संख्यामा पुलिसकर्मीहरू कार्यालयभित्र पसेर पत्रकार र कर्मचारीहरूलाई बाहिर निकालिरहेको देखिन्छ। यस घटनाले भारतमा प्रेस स्वतन्त्रता र सञ्चार माध्यममाथिको सरकारी हस्तक्षेपलाई लिएर नयाँ बहस छेडिदिएको छ।























