देश

ओलीको अत्याचार सहने स्थिति छैन : एमाले वरिष्ठ नेता माधव नेपाल

जगत ठाडा मगर
२०७८ साउन ३० | मध्यान्ह ०४:०४ बजे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा नेपालले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् ।

‘उहाँको व्यवहारमा कुनै सुधार भएको भए कुनै लक्षण देख्नुभएको छ ? लोकतान्त्रिक बन्न खोज्नुभएको छ ? उहाँ अत्यन्त विनम्र हुन खोज्नुभएको छ ? उहाँले भनेको कुरा छ उहाँले माधव नेपाल जस्तालाई यो पार्टीमा कुनै ठाउँ छैन । उहाँले भनेको एक एक शब्द हेर्ने हो भने त्यो शब्दले उहाँको स्तर देखाउँछ र कुन तहसम्म मान्छेलाई गिज्याउनुहुन्छ, लान्छना लगाउन सक्नुहुन्छ बद्ख्वाँइ गर्न सक्नुहुन्छ त्यो बाट उहाँको स्तर देखिन्छ’ नेपालले भने, ‘ओलीको अत्याचार सहने स्थिति छैन । ’

नेता नेपालले ओली पक्षका केही नेताले पार्टी एकताका नाममा सदस्यता नवीकरण र विधान महाधिवेशन रोक्न सकिने भने पनि महासचिवले हामी अघि बढिसक्यौं, आउने आउँछन्, नआउने आउँदैनन् भनेको पनि बताए । ‘के हामी लुरुक्क परेर जाने हो ? समर्पण गर्न जाने हो ? होइन’ उनले भने ।

ओलीले हालसम्म गरेका कुनै पनि निर्णयबाटपछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताए ।

कमेन्टहरु