देश

जुका मर्दै गएपछि प्रभावित भयो लिच थेरापी

जगत ठाडा मगर
२०७८ साउन ३० | बिहान ०९:०४ बजे

तनहुँ । जुका (लिच)लाई चुसाएर उपचार गर्ने पद्धति निकै प्रभावित हुँदै गएको छ । उक्त विधि अपनाएर केही बिरामीको उपचार गरेपछि राम्रो प्रभाव देखिए पनि जुका मर्दै गएकाले प्रभावित भएको हो ।

गत वर्ष तनहुँमा भारतको मद्रासबाट पाँचवटा जुका तीन हजारका दरले किनेर उक्त विधिबाट उपचार थालिएको थियो । दमौलीको पानीमा अत्यधिक मात्रामा चुन मिसिएका कारण जुका मर्ने गरेकाले टिकाउन नसकिएको डा. मण्डलले बताउनुभयो ।

लिच थेरापी विधि नेपालको तुलनामा विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोग हुँदै आइरहेको छ । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको हो । एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ।

डा मण्डलले भन्नुभयो, “एकजना बिरामीको बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ ।”लिच थेरापीका माध्यमबाट तालु खुइलिने, मधुमेहका घाउ, हाइपरटेन्सन थ्रम्बोसिसलगायतका रोगको सफल उपचार गर्न सकिन्छ ।

जुकाको र्यालमा १०० भन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पुर्याउने गर्दछ।

कमेन्टहरु