मलंगवाको सर्लाही मेडिकेयर हस्पिटलमा एपेन्डिक्सको सफल शल्यक्रिया


मनोज यादव
सर्लाही । प्रदेश न-२ अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामै पहिलोपटक मलंगवा स्थित सर्लाही मेडिकेयर प्रा.ली हस्पिटलले एकजना महिलाको एपेन्डिक्सको सफल शल्यक्रिया गरेको छ ।
एपेण्डीसाइटिसको समस्याबाट पिडित महिलाको सर्लाही मेडिकेयरका वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साहले सफलतापूर्वक शल्यक्रिया गरि ज्यान बचाउन सफल भएका हुन । गत साउन २५ गतेका दिन मलंगवा नगरपालिका वडा न-६, खुटौना माइती रहेको स्थानीय कमलेश यादवकी श्रीमती २६ वर्षीया अर्चना यादवको डा.साह र उनका मेडिकल टिमले एपेन्डिक्सको अपरेशन गरेका छन् ।
बिरामी अवस्थामा मलंगवाकै अस्पतालमा देखाउँदा उनको अपरेशन गर्नुपर्छ यहाँका अस्पतालहरुमा विशेषज्ञ डाक्टर र अपरेशनको सुविधा छैन । अपरेशनको लागि बाहिर लानुपर्छ भन्ने मात्र जवाफ आएपछि निराशनै भइसकेको अवस्थामा केही साथीहरूको सल्लाह अनुसार मलंगवामै वडा न-१० स्थित नयाँ जिल्ला अदालतको पछाडि तथा हुलाक कार्यालयको छेउमा भर्खरै संचालनमा आएको सर्लाही मेडिकेयर हस्पिटलमा देखाउने निधो गरे पति कमलेश यादवले बताए ।

उनले सर्लाही मेडिकेयरका डा. साहले सफलतापूर्वक अपरेशन गरेर पत्नीको ज्यान बचाइ दिएको भन्दै विशेषज्ञ डाक्टर सहित उक्त हस्पिटलमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । बाहिर लगेको भए समयको साथसाथै लाखौं रुपैयाँ खर्च हुने थियो । मलंगवामै एपेन्डिक्सको अपरेशन भएपछि समय र पैसाको बचत भएको उनले खुसी व्यक्त गर्दै भने ।
प्रदेश न-२ अन्तर्गत पर्ने अन्य जिल्लाहरुको तुलनामा सर्लाहीको मलंगवा जटिल मात्र नभइ सामान्य रोगको उपचारका लागि पनि पछाडि परेको ठाउँ हो । यस जिल्लाका बिरामीहरु उपचारका लागि छिमेकी देश भारतको सितामढी, दरभंगा,पटना, दिल्ली लगायतका ठाउँमा जाने गरेका छन् । नेपालमै जानुपर्दा जनकपुर , बिरगंज ,धरान, भरतपुर र काठमाडौं जाने गरेका छन् ।मलंगवामा संचालित केही प्राइभेट अस्पतालमा सामान्य रोगको उपचारको साथै केही समयदेखि सिजरियन सेक्सन (पेट चिरेर बच्चाको डेलीभरी गर्ने शल्यक्रिया) भए पनि अरु अपरेसन भएका थिएनन् । तर सर्लाही मेडिकेयर हस्पिटलले पहिलोपटक यस किसिमको जटिल अपरेशन गरेर अब जटिल रोगको उपचार र अपरेशनको लागि ठुला शहरमा गएर आफुमाथि आर्थिक भार थप्नु पर्ने अवस्था समाप्त भएकोले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि सर्लाही मेडिकेयर हस्पिटल बरदान नै सावित भएको जानकारहरुले बताए ।
जिल्लाको सदरमुकाम भएर पनि मलंगवामा एकजना पनि सर्जन डाक्टर र बालरोग विशेषज्ञ डाक्टर नरहेको अवस्थामा यस अस्पतालले कुनैपनि किसिमको जटिल रोगको अपरेशनका लागि वरिष्ट जेनरल सर्जन डा.विजय प्रताप साह र जन्म देखि १६ वर्षसम्मको बच्चाको सम्पूर्ण रोगको उपचारको लागि वरिष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रबिन कुमार चौधरीलाई लिएर भर्खरै स्थापना भएको यस हस्पिटलले छोटो समयमै राम्रो उपचार सेवा र सुविधा प्रदान गरेर नाम कमाउन सफल भएको छ ।
सर्लाही मेडिकेयरका अनुसार यस हस्पिटलले बिरामीहरुको लागि २४ सै घण्टा इमर्जेन्सी, फार्मेसी, प्याथोलोजीको साथै जनरल वार्ड र बच्चाको लागि उच्च निर्भरत एकाई(NICU)को समेत सुविधा उपलब्ध गराएको छ । यस हस्पिटलमा एपेन्डिक्स, बाबाशिर, फिस्टुला, हर्निया, हाइड्रोसिल, पिसाबको समस्या, कुनै किसिमको घाउ, पोलेको घाउ, गिल्ठी, शिष्ट, पेट दुख्नु, स्तनको समस्या र एक्सिडेन्टल केशको उपचारको व्यवस्था रहेको डा.साहले जानकारी गराएका छन् ।साथै अडियोलोजिस्ट रश्मी रंजन द्वारा कान कम सुन्ने र नबोल्नेहरुको समेत उपचार गरिदैं आएको डा.साहले बताए । महिनाको प्रत्येक सनिवार औषधि बाहेक निशुल्क ओपिडी सेवा दिंदै आएको यस हस्पिटलले गरिब तथा विपन्नहरुको सम्पूर्ण उपचार खर्चमा ५० प्रतिशत छुट दिदैं आएको छ ।
एकजना पनि सर्जन र नवजात शिशु तथा बालरोग विशेषज्ञ नरहेको मलंगवामा सर्लाही मेडिकेयर प्रा.लिले डा.साह र चौधरीलाई ल्याएर स्तरीय उपचारमा कोषेढुंगा सावित भएको स्थानीयहरुले अनुभव गरेका छन् । विस्तारै हरेक रोगको विशेषज्ञ डाक्टर ल्याउने लक्ष्य लिएको यस हस्पिटलको कोरोना भाइरसको समस्या समाधान भइ अवस्था सामान्य भएपछि गरिब तथा दलित समुदायको बसोबास रहेको सर्लाहीका गाउँ र टोलमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको जनाइएको छ ।






















