Opens in a new tab

बिश्व

ट्रम्पको स्वीकारोक्ति : रुसले इरानलाई सैन्य सहयोग गरिरहेको हुनसक्छ

एजेन्सी
२०८२ फाल्गुन ३० | मध्यान्ह १२:११ बजे

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी द्वन्द्वका बिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसले इरानलाई ‘केही हदसम्म’ सहयोग गरिरहेको हुनसक्ने बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले पनि युक्रेनी सेनालाई रुस विरुद्धको युद्धमा सहयोग गरिरहेको तथ्यलाई स्वीकार गर्दै रुसले पनि इरानलाई मद्दत पुर्‍याइरहेको हुनसक्ने धारणा राखेका हुन्। 

केही अमेरिकी सञ्चारमाध्यमका अनुसार रुसले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य ठेगानाहरूको जानकारी इरानलाई बाँडिरहेको छ, जसले इरानी मिसाइल र ड्रोन आक्रमणलाई सटिक बनाउन मद्दत पुर्‍याउन सक्छ। यद्यपि, पश्चिम एसियाका लागि अमेरिकी विशेष दूत स्टिभ विट्कोफले रुसी सरकारले आफूहरूलाई त्यस्तो कुनै पनि खुफिया जानकारी इरानलाई नदिएको आश्वासन दिएको दाबी गरेका छन्।

पुटिनले इरानलाई सहयोग गरिरहेको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई पनि पुटिनले थोरै सहयोग गरिरहेको जस्तो लागेको र अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेकाले रुसले पनि प्रतिशोध स्वरूप यस्तो कदम चालेको हुनसक्ने बताए।  वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार रुसले अमेरिकी सैन्य जहाज र विमानहरूको लोकेसन इरानलाई उपलब्ध गराएको छ, जुन इरानको आफ्नै कमजोर भू-उपग्रह प्रणालीको तुलनामा निकै प्रभावकारी साबित हुन सक्छ। ट्रम्पले यसअघि रुसी सहयोगको प्रभावलाई कम आँक्दै इरानको पछिल्लो अवस्था सन्तोषजनक नरहेको टिप्पणी गरेका थिए। 

यसैबिच, युद्धका कारण अकासिएको तेलको मूल्य नियन्त्रण गर्न ट्रम्प प्रशासनले रुसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ, जसलाई क्रेमलिनले आफ्नो अनिवार्य आवश्यकताको रूपमा व्याख्या गरेको छ।

कमेन्टहरु