देश

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै : राजनीतिक र साङ्गठनिक विषयमा छलफल हुने

जगत ठाडा मगर
२०७८ साउन ३० | बिहान ०८:०४ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। शनिबार बिहान ११ बजेदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रचण्डले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका हुन्। बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो।

यसअघिको माओवादीको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको विस्तृत सूचीसहित जानकारी केन्द्रीय कमिटी बैठकमा लिएर आउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको थियो।

कमेन्टहरु