स्थिर भयो तेलको भाउ, एसियाली शेयर बजारमा हरियाली


हङकङ । अमेरिका र इजरायलको इरानमा जारी युद्धका कारण केही दिन तीव्र उतार–चढाव भोगिरहेको विश्व तेल बजार बुधबार अपेक्षाकृत स्थिर देखिएको छ । बुधबार बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब १ दशमलव १८ प्रतिशतले घटेर ८६ डलर ८० सेन्ट प्रतिब्यारेलमा आएको छ । उता, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि शून्य दशमलव ५२ प्रतिशतको कमीसहित प्रति ब्यारेल ८३ डलर १४ सेन्टमा डलरमा कारोबार भइरहेको छ ।
यसैबिच, एसियाली शेयर बजारहरू पनि क्रमशः सुधारोन्मुख देखिएका छन् । मंगलबार हरियालीमा पुगेर बन्द भएका शेयर बजार बुधबार पनि हरियालीमै रहने देखिएको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क करिब ३ दशमलव ५७ प्रतिशतले बढेको छ भने जापानको निक्केई २२५ सूचकाङ्क पनि २ दशमलव ५४ प्रतिशतले बढेको छ ।
हङकङमा हाङ्शेङ शून्य दशमलव शून्य ७ प्रतिशतले बढ्दा ताइवानमा ताइवान वेटेड पनि ४ दशमलव ३२ प्रतिशत माथि आएको थियाे । बुधबारको कारोबारमा सिंगापुर र चिनियाँ शेयर बजार पनि हरियोमै थिए । यद्यपि, भारतीय शेयर बजार भने रातोमा थियो ।
विश्लेषकहरूका अनुसार बजारले युद्धको पछिल्लो अवस्थाबारे आइरहेका खबरहरू पचाउँदै गर्दा तेल तथा शेयर बजारमा अहिले केही स्थिरता देखिएको हो । तर मध्यपूर्वको तनाव लम्बिएमा ऊर्जा बजार र विश्व अर्थतन्त्रमा थप दबाब पर्न सक्ने चेतावनी पनि दिइएको छ ।























